‘सेल्फी किङ’को सुटिङमा लागे विपिन

डिसी नेपाल
२५ भदौ २०७६ १३:१५

काठमाडौं। विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी बाँधिएको चलचित्र ‘सेल्फी किङ’को छायाँकन शुरु गरिएको छ। मंगलबार भक्तपुरको गणेश मन्दिरमा शुभमूर्हुत गर्दै चलचित्रको छायाँकन शुरु गरिएको हो ।

‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र ब्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ।

पहिलो दिन कलाकार साँस्कृतिक कार्यक्रमका लागि काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गर्दाको यात्राको दृष्य छायाँकन गरिनेछ। काठमाडौंदेखि सोलुखुम्बुसम्मका विभिन्न मनमोहक स्थानहरुमा चलचित्रको छायाँकन हुनेछ। छायाँकनका लागि दशैंअघि र दशैंपछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ।

जस अनुसार दशैंअघिको सेड्युल मंगलबारबाट शुरु भएको हो। २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मी लगायत काठमाडौंदेखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा चलचित्रको छायाँकन हुनेछ।

‘सेल्फी किङ’लाई विशाल सापकोटाले निर्देशन गर्दैछन्। चलचित्रमा विपिन र लक्ष्मीका अलवा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन।

गतवर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गर्न लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *