जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

डिसी नेपाल
४ कार्तिक २०८२ २०:५८
48
Shares

जुम्ला। जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न चटारो परेको छ। एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन कार्यमा व्यस्त हुनेगरेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाइले बताए।

यहाँका अधिकांश किसानले खेतमा पाकेको धान काटेर घरमा भित्र्याउन चटारो परेको छ। दसैँ सकिएसँगै जुम्ली किसान धान भित्र्याउन कार्यमा जुटेका हुन्। जिल्लाका किसान धान भित्र्याउन लागिपरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

हाल यहाँको मौसम सफा छ। त्यसैले यहाँका किसानलाई बर्खेबाली धानलगायत कोदो, सिमी र फापरलगायत बाली घरमा भित्र्याउन भ्याइनभ्याइ छ। जिल्लाका सबैजसो मार्सीधानका फाँटहरूमा किसान व्यस्त हुने गरेका छन्। यो धान चैतमा बीउ राख्ने, जेठदेखि असारमा रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ।

कार्यालयका अनुसार आव २०८०/८१ मा जुम्ली मार्सीधानको तीन हजार मेट्रिक टन उत्पादन भएको थियो। जसमध्ये दुई सय मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको थियो। जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ। गतवर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक हजार दुई सय हेक्टरमा झरेर खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ।

अहिले किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ १ र चन्दननाथ ३ का साथै लेकाली १ र लेकाली तीन जातको धानसमेत यहाँका किसानले रोप्ने गरेका छन् । जुम्ली मार्सीधान पहिचानसँग जोडिएको छ। अहिले मार्सीचामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रूपैयाँमा किनबेच भइरहेको छ। विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सीचामल लिन गरेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *