ठूला केदारको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जय श्रीकेदार समाजको जोड

डिसी नेपाल
५ कार्तिक २०८२ १०:४३
188
Shares

काठमाडौं । जय श्रीकेदार समाजको चौथो साधारण सभा धनगढीमा एक कार्यक्रमबीच सम्पन्न भएको छ। उक्त कार्यक्रमका वक्ताहरूले डोटीमा रहेको ठूला केदारको विकास तथा प्रवर्द्धनमा जोड दिएका छन्।

समाजका पूर्वअध्यक्ष एक लोकसाहित्यकार डा. बद्री शर्मा विनाडीले ठूला केदारको महिमा निकै विशिष्ट रहेको बताए। उनले शिवको पाउ पडेको भूमि भएकाले यसको ऐतिहासिक प्रवर्द्धनमा सबै एकबद्ध हुनुपर्ने बताए।

यस्तै वरिष्ठ साहित्यकार पद्मराज जोशीले ठूला केदार शिवको हृदय स्थल भएको बताएका छन्। उनले केदारको महिमा उजागर गर्दै धार्मिक पर्यटकको हवका रूपमा विकास गर्न सकिने बताए। यसबाट बोगटान क्षेत्र मात्र नभएर सिंगो सुदूरपश्चिमले मनग्य आम्दानी हासिल गर्न सकिने जोशीले बताए।

मदन पुरस्कार विजेता रामलाल जोशीले डोटीको सभ्यता ठूला केदारसँग जोडिएर आउने बताएका छन्। त्यसैले डोटी र ठूला केदारको विकासमा सबैले आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनु पर्ने उनले बताए। जहाँ गए पनि जन्मभूमिको सेवा मानवको नै प्रमुख दायित्व भएको उनले बताए।

नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बमले पवित्र हृदयका साथ ठूला केदार पुगेर बर माग्दा मनोकामना पूरा हुने विश्वास व्यक्त गरे। त्यसैले यसलाई धार्मिक हब बनाउन सकिने उनको भनाइ छ।

पूर्वप्रतिनिधि सभा सदस्य महेश्वर पाठकले नवीन र सृजनशील ढंगले ठूला केदारको विकासमा ध्यान दिनुपर्ने बताएका छन्। उनले युवा पुस्तालाई पनि आफ्नो संस्कृति र धरोहरको उन्नयनमा सक्रिय गराउन सक्नुपर्ने बताएका छन्।

प्रदेश सभा सदस्य धर्मराज पाठकले बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकाका पाँच विद्यालयको भवनमा प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए। उनले ठूला केदारको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छन्। भारतलगायत देशमा ठूला केदारको महिमा जागृत गर्न सकेमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताएका छन्।

‘हामी हाम्रा सम्भावनालाई बेच्न सक्नुपर्छ। ठूला केदारको महिमा भारतलगायत मुलुकमा बेच्न सक्यौं भने यहाँ ठूलो संख्यामा धार्मिक पर्यटक ल्याउन सक्छौं। र, त्यसले डोटीको विकासमा ठूलो योगदान पुर्‍याउने छ,’ उनले भने।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री प्रकाश बमले आफू जहाँ रहे पनि जन्मभूमिलाई सधैँ माया गर्ने बताएका छन्। बडिकेदारको विकासमा प्रदेश सरकारले यस पटकको बजेटमा ठूलो रकम विनियोजन गरिएको बताए।

यस्तै कार्यक्रमका सभापति पद्मकान्त जोशीले बोगटान र ठूला केदारको प्रचारप्रसार तथा उन्नयनमा समाजले टेवा पुग्ने खालका गतिविधि गर्ने बताएका छन्। ‘पुस्तक प्रकाशन र विभिन्न कार्यक्रमका माध्यमबाट हामीले ठूला केदारसँगै बोगटानको प्रचारप्रसार गरिरहेका छौं। हाम्रो प्रयासले मात्र पुग्दैन, त्यसैले सबैको साझा प्रयासबाट हाम्रो क्षेत्रलाई उठान टेवा पुर्‍याउन म सबैलाई आग्रह गर्दछु,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.