दुई देशको साझा छठघाट
महोत्तरी। महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ। बिगही नदीको यो करिब दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ गाउँपालिका–३ को तुलसियाही र भारततर्फ मधवापुर र रामपुर बजारका बर्तालुका लागि हो।
छठ मिथिला क्षेत्रको आस्थाको महापर्व मानिन्छ। प्राचीन मिथिला क्षेत्रमा दशगजापारिको भारतको मधुवनी जिल्ला पनि पर्छ। दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेबारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले अहिले दुवैतर्फका नागरिकले साझा छठघाट निर्माण गरेका हुन्।
‘माझमा दशगजाले दुई देश छुट्याएको छ, तर हाम्रा वेशभूषा, भाषा, संस्कृति र चाडवाड समान छन्‘, मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल भन्छन्, ‘हामीबीच सांस्कृतिक चाडपर्व एकआपसमा मिलेर मनाउने संस्कृति स्थापित छ, यो घाट यसैको उदाहरण हो।‘
भोलि शनिबार यसपालिको महापर्व छठ ‘नहाय–खाय’ विधिबाट सुरु हुँदैछ। चार दिनको यो लोकआस्थाको महापर्वमा आइतबार ‘खरना’ सोमबार ‘सझुकाघाट’ र मङ्गलबार बिहान ‘पारन’ (भोरका घाट) विधि गरेर सम्पन्न गरिनेछ। अहिले नेपाल–भारतको यो साझा घाट सजाउन नेपालतर्फका मटिहानी र तुलसियाही एवं भारततर्फका मधवापुर र रामपुरका सर्वसाधारण जुटेका छन्।
सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी)को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर बर्तालुले अघ्र्य (अर्घ) दिनेछन्।
यस घाटमा दुवैतर्फ (नेपाल–भारत)का गरी दुई हजार बढी बर्तालुले अघ्र्य दिने बताइएको छ। यहाँको छठघाट हेर्न १० हजार बढी श्रद्धालु उपस्थित हुने मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझी बताउँछन्। सझुकाघाटमा अघ्र्यको समयदेखि भोलिपल्ट बिहान भोरकाघाटको अघ्र्य दिउञ्जेलसम्म बर्तालु र उनका परिवारजन घाटमै छठी गीत गाउँदै जाग्राम बस्नेछन्।







डिसी नेपाल







Facebook Comment