संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्रीको निर्णय गैरकानुनी भएको अदालतको ठहर

डिसी नेपाल
२५ भदौ २०७६ १६:४०

एजेन्सी। स्कटल्यान्डको उच्च अदालतले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गरेको पाँच साताका लागि बेलायतको संसद निलम्बनको निर्णय गैरकानुनी भएको ठहर गरेको छ । अदालतले बुधबार सांसदले हालेको रिटमाथि सुनुवाई गर्दै गैरकानुनी भएको ठहर गरेको हो ।

बेलायतको संसद सेप्टेम्बर १० अर्थात सोमबारदेखि अक्टोबर १४ सम्म निलम्बन गरिएको छ । विपक्षी सांसदहरुले उक्त कदमको व्यापक विरोध गरिरहेका छन् । उनीहरुले युरोपियन युनियनबाट बाहिरिनका लागि योजना बनाउन र विपक्षीलाई उक्त कदमको विरोध गर्नबाट रोक्न यस्तो निर्णय गरेको बताएका छन् ।

अदालतको आदेशपछि स्कटिश राष्ट्रिय पार्टीका सांसद जोना चेरीले स्काइ न्युजसँग कुरा गर्दै भने, “हामीले तत्काल संसद बोलाउन आग्रह गरेका छौं ।” यस विषयमा प्रधानमन्त्री कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघिको शुक्रबार लन्डनको उच्च अदालतले भने बेलायतको संसद निलम्बन गैरकानुनी भएको भन्दै परेको रिट रद्द गरेको थियो । उक्त रिटमाथिको सुनुवाई सेप्टेम्बर २७ मा बेलायतको सर्वोच्च न्यायिक निकाय, सर्वोच्च अदालतमा सुनुवाई हुने भएकोले उच्च अदालतले रिट रद्द गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *