सवारी दुर्घटनामा १३ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको ज्यान गएको छ।
रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित सडकमा मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा आठबिसकोट नगरपालिका-३ स्याला बस्ने ३० वर्षीया कमला वली, सोही नगरपालिका-१ बस्ने १६ वर्षीय टेक जंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, सोही नगरपालिका-२ बस्ने १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल वलीको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएकी आठबिसकोट नगरपालिका-२ बस्ने २८ वर्षीया सबिता विकको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ९ जनामध्ये ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ।
स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ आमडाडास्थित सडकमा सतौबाट लामागेतर्फ आउँदै गरेको लु.५९ प ३७९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-१४ लामागे (लम्सालडाँडा) बस्ने ४५ वर्षीय माधब प्रसाद लम्सालको घटनास्थलमै मृत्यु भएको छ।
प्युठानको माण्डवी गाउँपालिका-५ रम्दीस्थित सडकमा ऐरावती देखि चकचकेतर्फ जाँदै गरेको लु.प्र.-०३-००१ ज ००१८ नम्बरको गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक ऐरावती गाउँपालिका-५ गोठीबाङ बस्ने २६ वर्षीय निरज नेपालीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनालाई थप उपचारको लागि बुटवलतर्फ रिफर गरिएको छ।
रूपन्देहीको देवदह नगरपालिका-९ घोडाह जंगलस्थित सडकमा खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु.४ प ९९५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-६ ईट्टाभट्टी बस्ने २५ वर्षीय सम्सेर खानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धबाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ।
दाङको घोराही उपमहानगरपालिका-१३ ओडारखोलास्थित सडकमा पिउरेबाट घोराहीतर्फ आउँदै गरेको रा.१ ह ५८१० नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही उपमहानगरपालिका-१९ बस्ने ३६ वर्षीया बम कुमारी विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको संजिबनी मेडिकल कलेज अफ मेडिकल साईन्सेज नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ६ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्पाको रामपुर नगरपालिका-७ तुरूङदी खोलास्थित सडकमा लु.१३ प ८६३५ नम्बरको मोटरसाइकल र लु.७७ प ४५०५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा लु.१३ प ८६३५ नम्बरको मोटरसाइकलमा सवार बगनासकाली गाउँपालिका-९ बस्ने २८ वर्षीय अर्जुन विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका लु.७७ प ४५०५ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डबी अस्पताल काठमाडौं रिफर गरिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment