पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु
काठमाडौं। पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापा, धनुषा र महोत्तरीमा गरी तीन जनाको मृत्यु भएको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार झापाको शिवसताक्षी नगरपालिकास्थित लालपानीमा खेलिरहेका बेला खुट्टामा गोमन सर्पले डस्दा एक पाँच वर्षीय बालकको मृत्यु भएको छ। उनको उपचारका लागि सर्पदंश केन्द्र चारआली लैजाने क्रममा मृत्यु भएको हो।
यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका—४ क्याम्पसचोक बस्ने ४३ वर्षीय एक महिलाको आगोले जलेर मृत्यु भएको छ। लक्ष्मी पूजाको दिन बालिएको दियोमा पुनः तेल हाल्ने क्रममा अचानक कपडामा आगो सल्किँदा घाइते भएपछि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यस्तै, महोत्तरीको बर्दिवास नगरपालिका—१ सङ्गमटोलस्थित एक घरमा ग्यास चुहावट भई अचानक आगलागी हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। आगलागीमा परी शरीरको ९० प्रतिशत भाग जलेका उनको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएकामा कीर्तिपुरस्थित बर्न अस्तपालमा उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ।
पछिल्ला २४ घण्टामा भएका १६ वटा विपद्जन्य घटना भएका र विभिन्न ठाउँमा तीन जना घाइते भएका पनि प्राधिकरणले आज जारी बुलेटिनमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment