चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

डिसी नेपाल
११ कार्तिक २०८२ ७:५०
32
Shares

गण्डकी । जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक होमबहादुर थापाले जानकारी दिए।

गलकोट–६ बसाहफाँटमा सञ्चालन हुने चारवटै विधाका प्रतियोगितामा अहिलेसम्म ५१ समूह सहभागी हुने निश्चित भइसकेको उनले बताए। उनका अनुसार भेट्रान्स कपका लागि १६, खुला वडास्तरीय पुरुष भलिबलमा १२, माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबलमा १६ र खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा सात समूह सहभागी हुनेछन्।

खुला प्रतियोगिता भएकाले जुनसुकै जिल्लाका पालिका र वडाका समूहले सहभागिता जनाउन सक्ने अध्यक्ष थापाले बताए। प्रतियोगिताको खुला पुरुषतर्फको खेलका विजेताले ट्रफी र मेडलसहित दुई लाख एक हजार १११, उपविजेताले एक लाख एक हजार १११ र तेस्रो हुनेले ५१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन्।

भेट्रान्स कप भलिबको विजेताले ट्रफी र मेडलसहित रु एक लाख, उपविजेताले रु ६० हजार र तेस्रो स्थान हासिल गर्नेले ३५ हजार पुरस्कार प्राप्त गर्नेछन्। खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताका विजेताले ट्रफी र मेडसहित रु ५१ हजार १११, उपविजेताले ३० हजार १११ र तृतियले रु १५ हजार १११ प्राप्त गर्नेछन्।

माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ट्रफी र मेडलसहित ३५ हजार, उपविजेतालाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताए। उक्त अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको उनको भनाइ छ।

सामूहिक लोकनृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुला डबल ब्याडमिन्टन प्रतियोगिता, आमासमूहस्तरीय पञ्चेबाजामा नृत्य प्रतियोगिता र माछा छोप्ने प्रतियोगिता आयोजना गरिएको छ।

सामूहिक लोकनृत्य प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सात हजार राखिएको छ। एकल नृत्यतर्फ रु १५ हजार, १० हजार र सात हजार राखिएको छ। डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार र दोस्रो हुनेलाई २० हजार प्रदान गरिनेछ। पञ्चेबाजामा हुने नृत्यमा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई पाँच हजार र तेस्रो हुनेलाई दुई हजार ५०० पुरस्कारको व्यवस्था गरिएको छ।

स्थानीय दरमखोलामा हुने माछा छोप्ने (हत्केला खेल्ने) प्रतियोगिताका विजेतालाई १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताए। कार्यक्रम अवधिभर विभिन्न विधाका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उनले उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.