पोखरामा घुम्ती साहित्य उत्सव
गण्डकी । प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ। एकदिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्नेछन्।
कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक र्यान्डम रिडर्स सोसाइटीले जनाएको छ। महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ।
महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन भट्टराईसँग सनिशा भट्टराईले संवाद गर्नुहुने कार्यक्रम छ। उक्त अवसरमा लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रम पनि रहेको छ।
न्यूरोडको सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजना हुने साहित्य उत्सव अपराह्न २ देखि सुरु भई साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा प्रवेश निःशुल्क गरिएको स्थानीय आयोजक र्यान्डम रिडर्स सोसाइटीले जनाएको छ। यसअघि चितवनलगायत जिल्लामा ‘फाइनप्रिन्ट फिभर’ आयोजना गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment