फिरौतीमा गृहमन्त्री बादलका भाइ पक्राउ

डिसी नेपाल
२६ भदौ २०७६ ७:२४

काठमाडौँ। दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ ।

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआईबीले गत साउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो । प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् ।

पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको ‘कल डिटेल रेकर्ड’ समेत झिकाएर अनुसन्धान गरेको थियो । स्रोतका अनुसार, गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ । अनुसन्धान अधिकारीले यो ‘मिलेर’ काम गर्नुलाई समीरकै योजनाअनुसार व्यापारी र व्यवसायीलाई धम्काएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन् । सीआईबी स्रोतले ती अभियुक्तहरूसँग बारम्बार सम्पर्कमा रहेर बसेको भेटिएपछि नरेशलाई पक्राउ गर्नुपरेको उल्लेख गर्‍यो ।

कान्तिपुरसँग सम्पर्कमा आएका अधिकांश उच्च अधिकारीहरूले नरेश पक्राउको पुष्टि गरे तर त्यसबारे खुलेर प्रतिक्रिया दिन चाहेनन् । भारतीय सेनाबाट अवकाश प्राप्त नरेशको घटनामा कुन तहसम्मको संलग्नता हो र उनले फिरौती रकम ‘डिल’ गरेका हुन् कि हैनन् भन्नेबारे सीआईबीले कुनै सूचना सार्वजनिक गरेको छैन ।

गृहमन्त्रीकै भाइ पक्राउ परेको घटना सार्वजनिक हुँदा ‘अप्ठ्यारो पर्ने’ भन्दै प्रहरीले यस मामिलालाई अति गोप्य राख्न चाहेको छ । स्रोतका अनुसार करिब एक साताअघि ब्युरोले अनुसन्धानका लागि भन्दै नरेश थापालाई महाराजगन्जस्थित आफ्नो कार्यालयमा बोलाएको थियो ।

घटनाक्रमको गम्भीरताले गर्दा नरेशलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भएपछि उनको नाम थुनुवा सूचीमा समेत चढिसकेको थियो । भाइ पक्राउ परेको विषय गृहमन्त्री थापासमक्ष तुरुन्तै पुग्यो । त्यसपश्चात् नरेशलाई बिरामी भएको कागजपत्र बनाएर प्रहरीले बोलाएको बखत उपस्थित हुने गरी हिरासतमुक्त गरेको स्रोतको दाबी छ । तर सीआईबीका उच्च अधिकारीहरू भने नरेश अझै थुनामा रहेको जिकिर गर्छन् ।

सीआईबीका प्रवक्ता एसपी दीपक रेग्मीले पक्राउ परेका पवन खड्का र सुरेन नगरकोटीलाई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा चलाउने गरी आइतबार मात्रै सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको बताए । घटनामा नरेशको संलग्नताबारेको प्रश्नमा उनले भने, ‘मलाई ठ्याक्कै यसबारेमा थाहा भएन । अर्को पिलरले गरेको अनुसन्धान हो ।’

सीआईबीमा अपराधको वर्गीकरण गरी त्यसको अनुसन्धानका निम्ति बनाइएका छुट्टाछुट्टै इकाईलाई ‘पिलर’ भन्ने गरिन्छ । जानकार स्रोतका अनुसार आइतबार सरकारी वकिलको कार्यालयमा पठाइएको मुद्दाको फाइलमा नरेशको नाम पनि समावेश छ ।

यसअघि निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न समीरमान बस्नेतलाई पक्राउ गरेर ल्याएलगत्तै निजलाई ललितपुरको नक्खु कारागार पुर्‍याइएको थियो तर समीरले जेलभित्रैबाट आफ्नो सञ्जाल चलाएको सुचना पाएपछि २०७५ असोज १५ मा उनलाई मुस्ताङ कारागार सरुवा गरिएको थियो ।

समीरको सरुवालगत्तै उनकी श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिन् । अदालती सुनुवाइका क्रममा समीरलाई काठमाडौं झिकाइयो । त्यसपछि उनलाई काठमाडौंकै केन्द्रीय कारागार, सुन्धारा चलान गरियो । आफूले भनेअनुसारको जेल सरुवा मिलाउनका निम्ति सुरुमा समीरले पवन र सुरेनलाई खटाएको, त्यही क्रममा उनीहरूको भेट गृहमन्त्रीका भाइ नरेशसँग भएको सीआईबीका अनुसन्धान अधिकारीहरूको दाबी छ ।

उच्च स्रोतका अनुसार नरेशको सम्पर्क दुबईमा रहेका जावेद नामका अर्का व्यक्तिसँग पनि जोडिएको देखिएको छ । जावेदको पूरा नाम नखुले पनि उनी गुन्डागर्दी र फिरौतीको दुनियाँमा कहलिएर २०७२ भदौमा प्रहरी कारबाहीमा मारिएका कुमार घैंटेसँग निकट रही काम गरेका व्यक्ति हुन् । दुबईलगायत विदेशबाट इन्टरनेट कल गरी व्यवसायीलाई धम्क्याउने र नेपालमा आफ्नो सम्पर्कमा रहेका केटाहरूलाई रकम असुल्न परिचालन गर्ने काम उनले गर्दै आएको प्रहरीको भनाइ छ ।

कान्तिपुर दैनिकबाट साभार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *