आज रातिदेखि भोलिसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
१३ कार्तिक २०८२ १२:४७
64
Shares

काठमाडौं । देशका अधिकांश स्थानमा आज रातिदेखि भोलीसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले न्यूनचापीय प्रणाली नेपालभन्दा धेरै टाढा रहेको र आज रातिदेखि सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण बुधबार बेलुकादेखि पूर्वीनेपाल र आज बिहानदेखि गण्डकी प्रदेशभन्दा पूर्वका सबै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

‘न्यूनचापीय प्रणाली (चक्रवातको मूल भाग) अझै नेपालबाट धेरै टाढा छ। यो प्रणालीले आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा भारी वर्षा गराउने सम्भावना छ,’ पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत जनाएका छन्।

यता जल तथा मौसम विज्ञान विभागले तीन दिन (कार्तिक १३, १४ र १५ गते)का लागि मौसमी चेतावनी जारी गरेको छ। देशका विभिन्न भागमा वर्षा र हिमपातको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ।

आज रातिदेखि कोसी, मधेस र बागमती प्रदेशका सबै जिल्लामा तथा गण्डकी र लुम्बिनी प्रदेशका गोरखा, नवलपरासी र रूपन्देही जिल्लामा ‘सतर्क रहन’ भनेको महाशाखाले आग्रह गरेको छ।

विभागले शुक्रबार कोसी, मधेस, र वाग्मती प्रदेशका सबै जिल्लासहित गोरखालाई ‘सतर्क रहने’ सूचीमा राखेको छ ।

शनिबार कोसी प्रदेशको पूर्वी भेगका संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा ‘सतर्कता’ अपनाउन अनुरोध गरेको छ। बाँकी अधिकांश जिल्लाहरूमा मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.