आजबाट देशभर ‘परान’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

डिसी नेपाल
१४ कार्तिक २०८२ ११:३०
52
Shares

काठमाडौं। नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज (कार्तिक १४) बाट देशभर रिलिज भएको छ। उत्साहजनक शो संख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने उच्च अपेक्षा गरिएको छ।

बिहीबार राती काठमाडौंमा आयोजीत ग्राण्ड प्रिमियरमा ‘परान’ले उत्कृष्ट प्रतिक्रिया समेत पाएको थियो । फिल्म हेरिसकेपछि धेरै भावुक भएको देखिन्थ्यो । बिशेषगरी आफ्नो परिवारका सदस्यलाई धेरैले ‘बारबार सम्झनामा ल्यायो’ भन्दै प्रतिक्रिया दिएका थिए।

वरिष्ठ अभिनेता हरिवंश आचार्यले निर्देशक दिपक आचार्यको डेब्यु फिल्म उत्कृष्ट रहेको भन्दै ‘परान’ले देखाएको कथा हरेक गाउँको समस्या भएको बताए। उनले ‘परान’ हेर्दा धेरैले आफ्नो घरको कथा महसुस हुनसक्ने भन्दै सबैलाई फिल्म हेर्न आग्रह गरे।

अहिले प्रदर्शनरत ‘जेरी अनटप’का निर्देशक सुयोग गुरुङले ‘परान’ छुटाउनै नहुने फिल्म बनेको प्रतिक्रिया दिए। हेरिरहँदा आँखा झिमिक्क नहुने र कतिखेर आँखामा आँशु आउछन् थाहा नै नहुने भन्दै आफ्नो पनि आँशु खसेको बताए। अन्य सेलिब्रेटीले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।

साथै प्रिमियरमा उपस्थित अधिकांशले फिल्मका निर्माताद्धय शेखर गोल्छा र रन्जित आचार्यलाई फिल्म निर्माणमा प्रवेशसँगै उत्कृष्ट फिल्म दिएकोमा बधाई तथा शुभकामना दिएका थिए।

फिल्मले आफ्नो उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ, जसले आफ्ना सन्तानको नजिक रहन चाहन्छन् तर सन्तानका आफ्नै प्राथमिकताका कारण ती चाहना पूरा हुन सक्दैनन्। यसै अन्तरद्वन्द्वलाई फिल्मले भावनात्मक रूपमा चित्रण गरेको छ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।

त्यस्तै, फिल्मका गीतमा निर्देशक दीपक आचार्यकै शब्द र रिदम कँडेलको संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्।
छायांकन (डिओपी) शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन्। फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *