व्यवसायी सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ

डिसी नेपाल
१४ कार्तिक २०८२ १९:५९
160
Shares

चितवन । युवा व्यवसायी रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई गएराति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० का २४ वर्षीय राजबहादुर कार्की, सोही स्थानका २४ वर्षीय प्रकाश तामाङ र वडा नं १३ का २१ वर्षीय सनम सुनार रहेका छन्। उनीहरूलाई मुग्लिनबाट पक्राउ गरिएको उनले बताए।

भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका सञ्चालक सिग्देललाई अपरिचित समूहले बिहीबार अपराह्न आक्रमण गरेको थियो। काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समूहमा आएकाहरूले आक्रमण गरेका प्रहरी नायब उपरीक्षक खनालले बताए।

सिसी टिभी फुटेजमा उनीहरू सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेका र सिग्देललाई त्यहाँ देख्नासाथ मोटरसाइकलको हेलमेट प्रयोग गरेर आक्रमण गरेका अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ। अक्रमणमा सिग्देलको हात र टाउकोमा चोट लागेको छ।

खनालले भरतपुर अस्पतालमा उपचार भइरहेको जनाउँदै यसअघि उनीमाथि सोही ठाउँमा आक्रमण भएको बताउनुभयो। पक्राउ परेकाहरूसँग घटनाका बारेमा सोधपुछ भइरहेको बताउँदै यसबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.