शेखर कोइरालालाई पार्टी फुट्ने चिन्ता

डिसी नेपाल
२५ कार्तिक २०८२ २०:३९
84
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको माग गर्दै भएको महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर रुजु गर्नेतिर लाग्दा पार्टी अप्ठारोमा पर्ने सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

मंगलबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिले नै गर्नुपर्ने बताए।

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै काेइरालाले उक्त हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेकोले केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने बताएका हुन्।

उनले बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेपनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा जोड दिए।

‘विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना गर्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना हुन्छ,’ उनले भने।

नेता डा.कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि आफ्नो समन्वयकारी भूमिका रहने पनि बताए। कांग्रेसमा मध्यमार्गी भूमिका खेल्नेहरूले नै जित्ने उनको भनाइ छ। उनले नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन बाध्यात्मक रहेको पनि बताए।

उनले भने, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरु जो हुनुहुन्छ। त्यसमा हस्ताक्षर प्रमाणिकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ। त्यसकारण मैले केन्द्रीय समितिको बैठकले नै निर्णय गर्‍याे भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यहीँबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो। ५५ प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन। बाध्यात्मक हुन्छ। तर पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *