एक–एक जना कर्मचारीको भरमा बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्था अहिले एक जना स्वास्थ्यकर्मीको भरमा चल्दै आएका छन्।
पालिकाका दशवटै वडाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चलाउनुपर्ने बाध्यता छ।
पहिले सबै स्वास्थ्य संस्थामा एक जना अहेव, दुई जना अनमी र एक कार्यालय सहयोगीले गरी चार जना कर्मचारी रहेकोमा अहिले एक जनाको भरमा स्वास्थ्य संस्था चलेका हुन्।
कार्यपालिकाको ४९ औँ बैठकले ४६ जना करार अस्थायी तथा ज्यालादारीमा राखेर काम गर्दै आएका झण्डै ४६ जना स्वास्थ्यकर्मी हटाएपछि अहिले ती स्वास्थ्य संस्था एक जनाको भरमा चलाउनु परेको हो।
एक/एक जनाको भरमा स्वास्थ्य संस्था चलाउन पालिकालाई अहिले हम्बेहम्बे भएको छ। स्थानीयहरुले घण्टौ हिडेर सेवा लिनुपर्ने बाध्यता छ। पहिले स्वास्थ्यकर्मी स्थानियको घरदैलोमै पुग्ने गरकोमा अहिले सेवा दिनै समस्या हुने गरेको छ।
स्वास्थ्य संस्थामा पुग्ने स्थानीयले अहिले राम्रोसँग सेवा नपाउने गरेका छन्। अहिले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिन समस्या भएको बुढीगंगा नगरपालिका–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता बिष्टले बताइन्।
स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको उनले बताइन्। कतिपय सुत्केरी व्यथा लागेकी महिला स्वास्थ संस्थामा आउन नसक्ने हुँदा उनीहरुकै घरमा गएर सेवा दिनु परेको उनको भनाइ छ।
प्रदेश सरकारले अस्थायी कर्मचारी हटाउने निर्देशन दिएसँगै पालिकाले करारका सबै कर्मचारी हटाउँदा अहिले सेवा प्रवाहमा असहज भएको हो। प्रदेश सरकारको निर्देशन अनुसार नियम रुपमा हामीले कर्मचारी हटाएको हुँदा बढीजसो स्वास्थ्य संस्था प्रभावित बनेको नगर प्रमुख राम बहादुर बाँनियाले बताए।







डिसी नेपाल






Facebook Comment