दुई दिने हेटौंडा भ्रमण (दोस्रो भाग)

कपिल लोहनी
२९ कार्तिक २०८२ ७:२६
64
Shares

एकाबिहानै हेटौँडाको निम्ति हाम्रो यात्रा शुरु भयो। काठमाडौँको टेकु हुँदै हामी दक्षिणतर्फको चक्रपथ पुगेर कीर्तिपुर जाने बाटो पक्रँदै चोभारतर्फ लाग्यौँ।

हामी साना छँदा दशैंताका दक्षिणकालीको दर्शन गर्न जाँदा एकचोटी चोभारको डाँडाबाट मेरा पिताजीले टाढा पूर्वतिरको खेतै खेतको बीचमा रहेको एउटा मात्र पक्की ठूलो संरचनातिर देखाउँदै ‘उ त्यो नख्खु जेल हो’ भन्नु भएको आज जस्तै लाग्छ।

तर आज त्यो पुरै फाँटमा घरैघर बनेर कोलाहलपूर्ण वातावरण बनेको र एक टुक्रा पनि खेत वा हरियाली देख्न नपाइने गरी कङ्क्रिटको जंगलले घेरिएको देखेर निकै अचम्म लाग्दछ।

पहिलेको विशाल र एक मात्र पक्की घरसहितको नख्खु जेल खोज्न अहिले त सबैभन्दा पहिला मेडिसिटी अस्पतालको भवनलाई हेरेर त्यसको सिरानमा रहेको नख्खु खोलाको किनारको पुरानो, जीर्ण र सानो देखिने संरचना नख्खु जेल रहेछ भनेर थाहा पाउनु पर्ने अवस्था आइसकेको रहेछ।

चोभारको डाँडामा हाल मञ्जुश्रीको बडेमानको मूर्तिसहितको पार्क तलको खोच र फलामे पुलसम्मै बनेको छ भने पहिले हिमाल सिमेन्ट कारखाना रहेको जमिनमा सुख्खा बन्दरगाहको निर्माण गरिएको छ। त्यहाँको निकै पुरानो र प्रसिद्ध जलविनायकको मन्दिरमा हिजोआज भक्तजनहरूको झनै धेरै भीड लाग्न थालेको छ।

प्रत्येक वर्ष कोजाग्रत पुर्णिमादेखि करिव एक महिनासम्म त्यहाँ धार्मिक मेला नै लाग्दछ। राणाशासनकालमा बनेको झोलुंगे पुल अझ पनि जस्ताको तस्तै ठडिइरहेको छ मञ्जुश्रीले काटेको भनेर किम्बदन्तीमा उल्लेख भएको चोभारको खोँच माथि, तर हिजोआज त्यो पुलबाट आवतजावत बन्द गरिएको छ सुरक्षाको कारण।

जे होस् अन्य धेरै ठाउँमा जस्तो त्यो पुललाई हटाएर गायब बनाइएको भने छैन। बरू त्यहाँ आउनेहरूले सो पुलमा लेखिएको पुलको विवरण पढेर पुल बारेको इतिहास जान्न सक्छन्। त्यहाँ एक नयाँ पुलको निर्माण भएर हाल सो बाटो हुँदै भैंसेपाटी र तल मेडिसिटीतिर जानआउन निकै सहज हुन थालेको छ। त्यो नयाँ पुल बन्नु भन्दा धेरै पहिले नख्खु हुँदै मानिसहरू चोभारको सोही झोलुङ्गे पुल तरेर पैदल ओहोरदोहोर गर्ने गर्दथे।

नेपालमा सार्वजनिक जग्गाहरू हिनामिना हुने होड नै चलेको बेलामा पनि साबिकको हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभारको विशाल जमिनमा निकै सून्दर पार्क र सुख्खा बन्दरगाह बनेका छन्। यसो हुन सक्नुमा त्यहाँका स्थानीयबासी र सामाजिक संस्थाहरूको पनि ठूलै देन रहेको छ।

सो क्षेत्रभन्दा अलिक अगाडि गएपछि नागदह आउँछ। मञ्जुश्रीले चोभारमा कटान गरेर काठमाडौँ उपत्यकाको पानी बाहिर फ्याँकेको किम्बदन्तीसँगै उपत्यकामा भएका नागहरूलाई रहने सुरक्षित ठाउँको रूपमा नागदहको निर्माण गरेको कथा पनि हामीले बालककालदेखि सुन्दै आएका थियौँ।

हामी युवा छँदा राजधानीका सिकारीहरू सो नागदह क्षेत्रमा टाढा टाढादेखि आएका पाहुना चराहरूको सिकार खेल्न एकाबिहानै ढुक्ने गरेका कथनहरू पनि सुन्ने गर्दथ्यौँ। तर अब भने सो नागदह क्षेत्रलाई निकै सून्दर क्षेत्र बनाएर चारैतिरबाट तारबारले घेरेर एक आकर्षक पार्क र पोखरी तथा चरा अवलोकन केन्द्रको रूपमा विकास गरिएको रहेछ। छेउछाउमा केही जमीन भने मिचिएका पनि छन्।

फर्पिङ र दक्षिणकालीको मन्दिर जाने बाटो पछिल्लो समयमा निकै जीर्ण बनेको भए पनि हाल हेटौँडा जाने बाटोको रूपमा पनि यो बाटोको महत्व रहेकोले यसको मर्मत गरिएको रहेछ।

यो बाटो पहिले पहिले दक्षिणकालीको मन्दिर पुगेर टुङ्गिन्थ्यो, त्यसैले यहाँ मोटरगाडीको चाप पनि धेरै हुँदैनथ्यो। तर हाल यही बाटो हुँदै हेटौँडा जाने मोटरकार, जीप तथा माइक्रोबस र मोटरसाइकलहरूको संख्या ह्वात्तै बढेकोले यो क्षेत्र निकै व्यस्त हुन थालेको छ।

फलस्वरुप बाटोको दुवैतिर नयाँ घरहरू र बजार बनेका छन्। पहिलेको जस्तो शान्त छैन यो क्षेत्र हिजोआज। तर पनि पहिले भएका खाली मैदान, वन क्षेत्र र हरियाली भने अझ पनि उस्तै नै भेटिन्छन्।

दक्षिणकालीको मन्दिर क्षेत्रमा लप्सीका रूख र अन्य वनस्पति प्रचुर मात्रामा थिए भने दक्षिणकाली क्षेत्र पुरै हरियो वनभित्र रहेको एक मनोरम स्थल थियो। तर हाल आएर मन्दिरको छेवैबाट छैमले हुँदै सिस्नेरीतिर जाने मोटर बाटो बनेकोले र त्यहाँ सवारीको चाप पनि बढेकोले हिजोआज त्यो क्षेत्रको शान्त वातावरण निकै खल्बलिएको छ।

दक्षिणकालीको मन्दिर क्षेत्रको पश्चिम पट्टिको खुला मैदान, जहाँ हामी वनभोग खान जाने गर्दथ्यौँ, सो ठाउँ पनि अब घरैघरले भरिन पुगेको छ। आजको दिनसम्म आउँदा यी र यस्तै कैयन् नकारात्मक परिवर्तनहरू हुँदै गएका भए पनि केही सकारात्मक कुराहरू पनि हाम्रो माभमा देखिएका छन्।

उहिले काठमाडौँका बासिन्दालाई मात्र पायक पर्ने यो निकै महत्वको देवी मन्दिर आज आएर हेटौँडा र कुलेखानी तथा अन्य नजिकका गन्तव्य जाने विभिन्न बाटाहरू खुले पछि चितवन, मकवानपुर र धादिङ जिल्लाका भक्तजनहरूको लागि समेत बिहान घरबाट निस्केर देवीको दर्शन गरे पश्चात् बेलुकीसम्ममा करिव करिव आफ्नो घर फर्किन सक्ने खालको सुविधा भएको छ।

छैमलेमा खोलिएको छैमले रिसोर्टले गर्दा पनि विगत एक दशकदेखि त्यहाँ जाने आन्तरिक पर्यटकहरूको संख्या बढ्न शुरु भएको थियो। अब त सो बाटो पहिलेको दाँजोमा निकै राम्रो भइसकेकोले त्यहाँ गाडी र यात्रुहरूको चाप पनि बढ्न शुरु भएको छ। यसो हुनाले पनि त्यो भेगको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउन थालेको छ। जग्गाको भाउ बढ्न थालेको छ भने, नयाँ नयाँ होटेल, रेष्टुरेन्ट, वनभोज गर्ने ठाउँ, गाडी चार्जिङ सुविधा आदि पनि उपलब्ध हुन थालेको छ।

केही किलोमिटर निकै अपठ्यारो र धुले बाटो भए पनि छिटै हामीले कालोपत्रे बाटो समाउन सक्यौँ। वास्तवमा यो सडक निकै अग्लो भीर काटेर खनिएको छ, तर यात्रा गर्दा त्यो अनुभूति भने हुँदैन। खासगरी सिमराबाट काठमाडौँको हवाई यात्रा गर्दा यो क्षेत्रको विषम् भौगोलिक बनोट, भीरै भीरमा घुराउरा बाटाहरू बनेका र पहिरोले गर्दा पहाड छिया छिया भएको देखिन्छ।

त्यसैले पनि यो बाटोले यात्रुहरूलाई निकै सुविधा प्रदान गरेकोले समेत यो क्षेत्रको पर्यावरणीय सुधार तथा प्राकृतिक सौन्दर्यलाई कसरी जोगाएर राख्ने भन्ने कुरामा स्थानीय र राष्ट्रिय स्तरमा नै विशेष सोच राखेर पहल गरिनु उत्तम हुन्छ। नेपालको अधिकांश भूभाग यस्तै प्रकारको भएकोले यो कुरा मुलुकभर नै लागु गरिनु पर्दछ।

२००७ सालको क्रान्ति पश्चात् नै कुलेखानी र यो क्षेत्रमा सुरुङहरूको निर्माण गरेर बाटाघाटा बनाउन र जलविद्युत परियोजना सञ्चालन गर्न संयुक्त राष्ट्रसंघ तथा विभिन्न दातृ राष्ट्र जस्तै स्विट्जल्र्याण्ड र सोही मुलुकका नागरिक डा. टोनी हागनले पनि पहल गरेका रहेछन्।

तर त्यतिबेला अर्थ र प्रविधिको अभाव र ठूलो स्केलको परियोजना नेपालमा त्यतिबेला त्यति धेरै नचाहिने भएकोले पनि त्यस्ता वृहत् परियोजनालाई अघि बढाउन नसकिएको हुन सक्छ।

बेलायतले भारतमा आफ्नो साम्राज्य खडा गरेको केही समय पछि नै भारतको पहाडी भेग र खासगरी पश्चिमी भाग यानी हाल पाकिस्तान भएको उत्तर-पश्चिमी बन्जर पहाडी इलाकामा रेल र सडक पु¥याउन उसले सुरुङहरूको निर्माण गरेको थियो, जुन अझसम्म पनि चल्तिमा नै छन्।

छैमलेको बाटोमा फिलिलिली गुड्दै हामी केही बेरमा नै ओराली लागेर सिस्नेरी बजार पुग्यौँ। त्यहाँ केही रेष्टुरेन्ट र रात बस्ने साना होटेलहरू पनि खुलेका रहेछन्। सिस्नेरी खोलामा केही प्राकृतिक जलक्रिडा स्थलहरू तथा झरना समेत भएकाले काठमाडौँदेखि मानिसहरू त्यहाँ घुम्न जाने गर्दा रहेछन्।

सो बाटोमा खासगरी वर्षातको बेला यात्रा गर्दा सिस्नेरीमा अवस्थित प्रहरी बिटमा फोन गरेर बाटोको हाल बुझ्ने पनि गर्दा रहेछन् अनुभवी यात्रु तथा चालकहरूले। एक वर्ष अगाडिको भिषण वर्षात् र बाढीपहिरोले सिस्नेरी बजार र त्यहाँको प्रहरी बिट तथा होटेल र घरटहरालाई निकै क्षति तुल्याएको थियो।

सिस्नेरीबाट केही किलोमिटर अगाडि बढेपछि फर्पिङबाट हेटौँडा जाने बाटो पनि आएर फाखेलमा हामी गएको बाटोसँग नै मिल्दो रहेछ। ठाउँ ठाउँमा पहिरो गएको र बाटो नै बगाएर डाइभर्सन बनाएर उवडखावड बाटोबाट जाँदै र खोला पनि तर्दे कैयन् किलोमिटरको बाटो तय गरेर हामी हेभी भन्ने ठाउँमा पुग्यौँ र त्यहाँबाट केही अगाडि दाहिने तर्फ माथि कुलेखानीको एउटा सानो ओभरफ्लो चेक ड्याम पनि देखे पछि हामीले कुलेखानीको ताल त्यतै नजिकमा रहेको अनुमान लगायौँ।

नभन्दै तालतिर जाने साँघुरो बाटो पनि त्यहीँ नजिकमा रहेछ। हिँडेरै भए पनि हामीले सो स्थलमा पुगेर कुलेखानी तालको छोटो नजारा लियौँ।

त्यसपछि हाम्रो गाडी उकालो चढ्दै अघि बढ्न थाल्यो। निकै मनोरम र हराभरा जङ्लको दृश्य हेर्दै हामी निकै रमाउँदै देउराली डाँडाको टुप्पामा पुग्यौँ। त्यतिबेला नेपथ्य व्याण्डको ‘छेक्यो छेक्यो देउराली डाँडा, हुस्सु र कुहिरोले’ भन्ने निकै लोकप्रिय गीत याद आयो र गुन्गुनाएँ पनि।

तर त्यो गीतमा भनिएको देउराली डाँडा त्यही हो वा होइन सो यकिनका साथ भन्न भने सकिएन। नेपाल र नेपाली मूलका बासिन्दा बस्ने नेपाली र भारतीय पहाडि क्षेत्रमा पनि देउराली भन्ने ठाउँ धेरै छन्। किनकी ‘देउराली’ भनेकै पहाडको उकाली सिद्धिएको ठाउँ वा भञ्ज्याङ हो।

दार्जिलिङका मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ भन्ने नाटकको देउराली र सो नाटकमा भएको ‘देउरालीका ठिटी हो, नक्कल पार्नु पर्दैन, हामीमा जस्तो तन्नेरी खोजेर फेरि पाइँदैन’ भन्ने गीत होस् वा पोखराका स्व. सरोजगोपाल बज्राचार्यको पुरानो लोकप्रिय गीत ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर, सानीलाई बोलाउँदा बोलिन, पर्नु पीर पर्‍यो’ नै किन नहोस् नेपाली लोक संस्कृति र साहित्यमा देउरालीको औधी ठूलो स्थान पाइन्छ।

देउराली डाँडाको उच्चतम क्षेत्र यानी १,४७१ मिटर (४,८२६ फिट) मा दुवै तर्बाफबाट चल्ने गाडीहरू रोकेर नास्ता तथा खाना खाने जङ्सन बनेको रहेछ। काठमाडौँ उपत्यका ४,३४४ फिटमा अवस्थित भए पनि देउराली एक भञ्ज्याङ भएकोले त्यहाँको मौषम सुप खाने वाउल जस्तो काठमाडौँ उपत्यकाको दाँजोमा बढी ठण्डा र हावा चल्ने खालको हुन्छ।

चिसो हावा चलेको, हल्का हुस्सु र कुहिरो पनि लागेको र ज्यादै शान्त ठाउँ देउराली। केही बेर त्यहाँ रोकिएर यताउता घुम्दा निकै समयदेखिको थकाइ मेटिएको महसुस भयो। हुन पनि काठमाडौँको कोलाहालपूर्ण वातावरण र धुवाँ र धुलोबाट भागेर यस्तो शान्त र स्वच्छ ठाउँमा पुग्दा खुशी नहुने को हुन्छ होला र।

बाटोमा ठाउँ ठाउँमा चन्द्रशमशेरको शासनकालमा बनेको धुरसिंह–चिसापानी-मातातीर्थ रज्जुमार्ग (रोपवे) को भग्नावशेषको रूपमा ठडिएका फलामका टावर, तार र सामान ओसार्ने बोगी (डिब्बा)हरूले पनि पुरानो इतिहासको झल्को दिइरहेका थिए।

यस्ता रोपवे र जलविद्युत केन्द्र तथा फलामे पक्की पुल र भोलुङ्गे पुलहरू समेत अन्य धेरै मुलुकमा भन्दा नेपालमा पहिले नै विकास भएका भए पनि हामी यी अत्यावश्यक सेवाका साधनको व्यापक रूपमा विस्तार गर्न चुकेका मात्र होइनौँ, त्यस्ता पुराना इतिहासलाई आउँदा पिँढीलाई देखाउन संग्रह गरेर राख्न पनि चुकेका छौँ।

उदाहरणको निम्ति काठमाडौँको सिफलमा रहेको एतिहासिक फलामे कालो पुल रातौँरात गायव गरियो भने फर्पिङस्थित नेपालको प्रथम जलविद्युत केन्द्र वा प्रथम रोपवेको वा दक्षिण एशिया कै एक मात्र ट्रलिबस वा बेलायतबाट निकै पहिले आयात गरिएका पुरातन दमकल, बग्गी र डकोटा हवाइजहाज वा अन्य पुराना वस्तुहरू हामीले संग्रह गरेर राख्नै सकेका छैनौँ। विकसित वा अन्य संस्कारी मुलुकमा आफ्नो इतिहास र गौरवलाई संग्रहालयमा सजाएर राख्ने गरिन्छ।

देउरालीबाट उकाली ओराली गर्दै अझ अघि बढेपछि हामी केही छिनमा नै करिव १,८०० मिटरको उँचाईमा रहेको ऐतिहासिक चिसापानी गढी पुग्यौँ। सुगौली सन्धि पछि नेपालको दरवार र पछि राणाशासकहरूले पनि भीमफेदी, चिसापानी गढी, सिसागढी भञ्ज्याङ (२,००० मिटर), चन्द्रागिरी भञ्ज्याङ (२,५०० मिटर) र थानकोटको नेपाल खाल्डो (काठमाडौँ) पस्ने पैदल बाटो तथा त्रिशुली, नुवाकोट जस्ता क्षेत्रलाई राजधानीको पहिलो सुरक्षा घेरा बनाएका थिए भने काठमाडौँ उपत्यकाका चार भञ्ज्याङलाई भित्री घेराको रूपमा हेर्ने गर्दथे।

चिसापानी गढीबाट दक्षिणतर्फ टाढा टाढासम्म देख्न सकिँदो रहेछ। भीमफेदी र त्यो भन्दा पनि निकै परका मैदान र तराईसम्मै देखिने यो गढी सामरिक रूपले निकै महत्वपूर्ण थियो नेपाल-अङ्ग्रेज युद्धताका।

चिसापानी गढीभन्दा दक्षिणतिरको वनजङ्गल राणाशासनको अन्त पछि पनि कटान गरेर बाँझो बनाई त्यहाँको काठ भारतमा विक्री गरेको कथन पुरुषोत्तम शमशेरको आत्मवृत्तान्तमा पढ्न पाइएको थियो।

हाल केही हदसम्म जिर्णोद्धार गरिएको भए पनि चिसापानी गढीमा रहेको निकै पुरानो र शक्तिशाली ‘काली तोप’ र यसका गोलाहरू अलपत्र भएर छरिएका छन् भने अन्य साना तोपहरू पनि संरक्षणको पर्खाइमा छन्। तिनै तोपको मद्दतले गोलाबारी गरेर कुनै जमानामा बेलायती सेनालाई गोर्खालीहरूले खदेडेका थिए।

यो अर्थमा पनि चिसापानी गढीको महत्व निकै धेरै छ। सिन्धुली गढी र मकवानपुर गढी जस्तै चिसापानी गढी र नेपालका अन्य सबै गढीहरूको उचित संरक्षण गरेर सेनाको जिम्मामा राख्नुको साथै ‘गढी पर्यटन’को नयाँ अवधारणको रूपमा नेपाल सरकारले विशेष कार्यक्रम र योजना तर्जुमा गर्नु पर्दछ।

चिसापानी गढीभित्र उतिबेलै गोर्खाली फौजले भगवतीको मन्दिर स्थापना गरेको रहेछ। गोर्खाली फौजले युद्धमा ‘जय दूर्गे’ भन्दै खुकुरी समाएर शत्रुमाथि धावा बोल्ने गरेकोबाट पनि हाम्रो संस्कृतिमा दूर्गा भवानीको महिमा कति छ भन्ने कुरा झल्किन्छ।

चिसापानी गढीभित्र रहेको भगवतीको मन्दिरको पनि उचित संरक्षण नभएको तर एकजना पुजारीले भने नियमित पूजा गर्ने र गढीको सुरक्षा गर्ने गरेको पाइयो। सायद स्थानीय सरकारबाट केही रकम नियमित सहयोग प्राप्त हुने गरेकोले यो सानो तर राम्रो बन्दोवस्ती भइरहेको हुन सक्छ। सोही मन्दिरभित्र जङ्गबहादुरको एक तैलचित्र पनि भेटियो।

चिसापानी गढीभित्र पस्न दक्षिणबाट त भीर र तोपको कारण बैरीलाई असम्भव नै हुने गर्दथ्यो भने उत्तरतर्फबाट पस्न पनि पानीको नहर जस्तो घेरा बनाइएकोले त्यो तोड्न त्यति सहज हुँदैनथ्यो होला।

सोही गढीमा भग्न अवस्थामा रहेको त्यतिबेलाको कारागार पनि घाँसैघासभित्र छोपिएको भेटियो। समग्रमा यो ऐतिहासिक स्मारकको जिर्णोद्धार र संरक्षण गर्न विलम्ब गर्न नहुने देखिन्छ।

चिसापानीबाट अघि बढेपछि हामी इन्द्रसरोवर गाउँपालिकाको चौडा तथा चहलपहल युक्त मुलचोकमा पुग्यौँ र त्यहाँबाट पनि अलिक तल ओर्लिए पछि बाटोको छेउमा स्थानीय तरकारी र गाजर बेच्न राखेको एक पसल र होटेलमा रोकियौँ।

एक स्थानीय कृषकले सञ्चालन गरेको सो पसलमा गाजरको जुस पिउन यात्रुहरू प्रतिक्षा गरिरहेका थिए। हामीले पनि गाजरको ठण्डा जुस पिएर आनन्द लियौँ भने त्यहाँको कञ्चन पानी पनि निकै मिठो लाग्यो।

केही बेरमा नै हामी १,१७० मिटरमा अवस्थित भीमफेदी बजार पुग्यौँ। भीमफेदी बजार महाभारत श्रृङ्खलाको फेदमा अवस्थित छ। कुनै बेला नेपालको राणा प्रशासन र व्यापारको एक निकै महत्वपूर्ण केन्द्र बनेर रहेको भीमफेदी बजार राणाशासनको अन्त र त्यसको केही वर्ष पछि त्रिभुवन राजपथको निर्माण भए पछि ह्वात्तै सुक्न गयो।

यहाँका अधिकांश व्यापारीहरू भैँसे र हेटौँडामा सरे भने केही स्थानीय प्रशासनका अड्डा र कतै जाने अवसर नमिलेका स्थानीय जनता मात्र त्यहाँ बस्न थाले।

हाल करिव दुई-तीन सय घर रहेको यो बजारका अधिकांश संरचनाहरू पुराना नै छन्। आधुनिक सटरको सट्टा लहरै काठका ढोका भएका र टायल वा टिनको छानायुक्त पुराना घरहरूको सौन्दर्य भने निकै तारिफ योग्य छ।

कतिपय राणाकालीक निजी भवन तथा कार्यालय रहेका घर त खाली खाली नै छन्। हाल यहाँ हुँदै काठमाडौँ जाने नयाँ बाटाघाटा बन्न थाले पछि भने यो बजारमा केही चहलपहल बढ्न थालेको छ र केही नयाँ घर-टहरा पनि थपिन थालेका छन्।

अझै पनि चारैतिर वनजङ्गलले ढाकिएको तथा निकै हराभरा ठाउँ भएकोले र यहाँको मौषम पनि बसोवासको निम्ति राम्रो भएकोले भीमफेदी बजार निकै सून्दर देखिन्छ। यो बजारको भविश्य पुनः चम्कँदै जाने कुरामा कुनै सन्देह छैन।

भीमफेदीबाट हामी बिस्तारै हरित क्षेत्र छिचोल्दै भैँसेतिर पुग्यौँ। त्रिभुवन राजपथको निर्माण भएपछि केही दशक निकै व्यस्त बनेको हेटौँडा-भैँसे-दामन-नौबिसे क्षेत्र पृथ्वी राजमार्ग र मुग्लिङ-नारायणघाट सडकको निर्माण पछि सुनसान हुँदै गयो।

किनकी यो बाटो क्षेत्रफलको हिसाबले मुग्लिङ-नारायणघाट हुँदै काठमाडौँ जाने बाटोभन्दा निकै छोटो भए पनि यसको ज्यादै घुमाउरोपनाले गर्दा अर्को लामो बाटोबाट यात्रा गर्दा नै छिटो र सहज तवरले गन्तव्यमा पुगिन्छ।

भैँसेदेखि त मैदानै मैदान हामी भित्री मधेशमा अवस्थित शहर हेटौँडाको बुद्धचोक पुग्यौँ। हामीले काठमाडौँदेखि नै शहीद स्मारक नजिकैको चार तारे होटेर स्मारकमा कोठा बुक गरेकोले हामी सिधै हेटौँडाको वडा नम्बर ११ स्थित सो होटेलमा गयौँ। महेन्द्र राजमार्गबाट थोरै उत्तरतर्फको चुरे पर्वतमाला शुरु हुना साथैको डाँडामा अवस्थित यो होटेलको झ्यालबाट राप्ती नदी तथा हेटौँडा शहरबाट केही बाहिरका फराकिला फाँटहरू निकै राम्ररी देखिने रहेछ।

क्रमश….

-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल एवम् समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.