सडक दुर्घटनामा परी पोर्चुगलमा एक नेपालीको निधन

डिसी नेपाल
३० कार्तिक २०८२ २१:१४
6.6k
Shares

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको सडक दुर्घटनामा परी निधन भएको छ।

विगत साढे दुई वर्षदेखि पोर्चुगल बस्दै आएका सुनसरीको इटहरी उपमहानगरपालिका-५ पिपलचोकका ४१ वर्षीय नागेन्द्र चौधरीको भिसेउ साटाओस्थित ट्राभेन्सेलामा भएको सडक दुर्घटनामा परी निधन भएको हो। बजारबाट सामान किनमेल गरी इलेक्ट्रिक साइकलमा घर फर्कँदै गरेका उनलाई तीव्र गतिमा आएको कारले पछाडिबाट ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको उनका साथी राजाराम श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार गत आइतबार साँझ चौधरीसहित अन्य तीन नेपाली इलेक्ट्रिक साइकलमा बजार गएका थिए। बजारबाट फर्कने क्रममा कारले एक्कासी ठक्कर दिएपछि चौधरी सडकमै अचेत भएर ढलेका थिए। दुर्घटनालगत्तै आएको प्रहरी र एम्बुलेन्ससहितको चिकित्सकको टोलीले चौधरीलाई घटनास्थलमै मृत घोषित गरेको थियो।

चौधरीको दुर्घटनामा परी ज्यान गएको घटनाबारे घरपरिवारलाई जानकारी गराइएको र परिवारले उनको शव नेपाल पठाइदिन आग्रह गरेको श्रेष्ठले बताए। घरपरिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको र शव पठाउनसमेत खर्चिलो हुने भएकाले आर्थिक सहयोग संकलन सुरु गरिएको बताउँदै श्रेष्ठले सो अभियानमा सहयोग गर्न पोर्चुगलवासी नेपाली समुदायसँग विशेष आग्रह गरे। यस्तै घटनका विषयमा लिस्बनस्थित नेपाली दूतावासलाई जानकारी गराइएको र आवश्यक सहयोगका लागि आग्रह गरिएको उनले बताए।

मृतक चौधरीका वृद्ध बुबाआमा, श्रीमती र छोराछोरी नेपालमा रहेका छन्। उनी भिसेउको साटाओ ट्राभेन्सेलास्थित एक कृषि कम्पनीमा कार्यरत थिए। चौधरीको शव भिसेउ अस्पतालको शव गृहमा राखिएको छ। रोजगारीकै सिलसिलामा क्रोएसिया हुँदै साढे दुई वर्षअघि पोर्चुगल आएका चौधरी पूर्व नेपाली सेनासमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.