भक्तपुर अस्पताल पुनः प्रदेशकै उत्कृष्ट, त्रिशूली दोस्रो र चौतारा तेस्रो

डिसी नेपाल
५ मंसिर २०८२ १४:४४
40
Shares

भक्तपुर। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षको मूल्याङ्कन सार्वजनिक गर्दै भक्तपुर अस्पताललाई पुनः प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा गरेको छ।

प्रदेशभरिका प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयहरुको समग्र सूचकांकका आधारमा गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पताल शीर्ष स्थानमा परेको मन्त्रालयले जानकारी गराएको हो।

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार सेवासुविधा, कार्यसम्पादन, व्यवस्थापन, दक्ष जनशक्ति, उपकरण, स्वच्छता तथा अन्य सूचकसमेत समेटिएको १०० अङ्कको मूल्याङ्कनमा भक्तपुर अस्पतालले ७१.१० अङ्क प्राप्त गर्दै उत्कृष्ट घोषित भएको हो। मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेपछि डा. गौतमले भक्तपुर अस्पताललाई रिफरल सेन्टरको रूपमै सीमित नराखी नमुना अस्पतालका रूपमा विस्तार गर्न सफल हुनुभएको उल्लेख गरिएको छ।

भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले गत वर्षजस्तै यसपालि पनि अस्पतालले प्रदेशभरिमा अग्रता कायम गर्न सफल भएको बताउँदै केन्द्रीय मूल्याङ्कनमा पनि उत्कृष्ट बन्ने लक्ष्यसहित कार्यसम्पादन जारी रहेको जानकारी दिए।

मूल्याङ्कनमा ७०.७२ अङ्क प्राप्त गर्दै त्रिशूली अस्पताल प्रदेशभरिमा दोस्रो र चौतारा अस्पताल तेस्रो हुँदा, जनस्वास्थ्य कार्यालयतर्फ ललितपुर उत्कृष्ट कार्यालय बनेको छ। धादिङ ७०.८६ अङ्कसहित दोस्रो र काभ्रेपलाञ्चोक ७०.६४ अङ्क प्राप्त गर्दै तेस्रो स्थानमा परेको मन्त्रालयले जनाएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय समूहमा सिन्धुली ७२.६० अङ्कसहित पहिलो, नुवाकोट ७०.१० अङ्कसहित दोस्रो र चितवन तेस्रो स्थानमा परेका छन्।

प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालयले १३ वटै जिल्लामा सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अत्यावश्यक उपकरण थप र गुणस्तरीय सेवा प्रवाहका लागि निरन्तर रूपमा काम गरिरहेको बताए।

कुनै पनि क्षेत्र उपेक्षा हुन नदिन मन्त्रालयको नीति तथा निर्देशनअनुसार शून्य गुनासो आउने गरी सेवा प्रवाहमा सबै स्वास्थ्य संस्थालाई जिम्मेवारीपूर्वक लाग्नुपर्ने मन्त्री थापाले उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *