रास्वपा कार्यवाहक नेतृत्वले रविलाई बाइपास गर्न खोजेपछि आगामी निर्वाचनमा बालेन-कुलमान गठबन्धन
काठमाडौं। आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गरेर जानका लागि लामो समयदेखि छलफलमा रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिम रास्वपा कार्यवाहक नेतृत्वसँग बिच्किएको छ । यससँगै बालेन रास्वपासँगको सम्भावित गठबन्धनबाट टाढिएका छन् ।
रास्वपासँगको छलफलमा सकारात्मक परिणाम नआएपछि बालेनको टिम अहिले ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीसँग सहकार्यको लागि छलफलमा छ । उनीहरुबीच विभिन्न चरणमा छलफल भइरहेको र दुवै पक्ष सहमतिको नजिक समेत पुगिसकेको स्रोत बताउँछ ।
स्रोतका अनुसार कुलमान र बालेनबीच फागुन २१ को निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक छलफल भइरहेको छ । आज (मंगलबार) पनि यी दुई समूहबीच छलफल हुँदैछ। छलफलबाट सकारात्मक नतिजा आउनेमा दुवै पक्ष आशावादी रहेको बालेनको टिमनिकट स्रोतले बतायो ।
‘मेयर बालेनको समूहले नयाँ दल दर्ता नगर्ने निश्चित जस्तै छ,’ स्रोतले भन्यो, ‘अहिले जेनजीका नाममा विभिन्न दल दर्ता भएका छन्। तर उनीहरुसँग सहमति गरेर जाने सम्भावना छैन। उज्याले नेपालसँग सहकार्य गरेर जाने विषयमा सहमति नजिक पुगेका छौं।’
यसअघि बालेनको समूहले राष्ट्रिय स्वतन्त्र पार्टीसँग चुनावी तालमेल गरेर जाने विषयमा छलफल गरेको थियो। विभिन्न चरणमा भएको छलफल सकारात्मक भएपनि रास्वपाका केही शीर्ष नेता सकारात्मक नभएपछि तत्काल रास्वपासँग सहकार्य नहुने भएको हो।
नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आगामी निर्वाचनमा ठूलो दल बन्न बालेनसँग सहकार्य गर्न इच्छुक देखिएपनि बाहिर रहेका नेताहरुले त्यस्तो वातावरण नबनाएको बालेन समूहको आरोप छ। रास्वपाको कार्यवाहक नेतृत्वको नियत सभापति लामिछानेलाई जेलमै रहन दिने र आफूहरुले नै पार्टीको नेतृत्वग र्दै निर्वाचनमा जाने किसिमको देखिएको बालेनको टिम बताउँछ ।
‘हामीले रवि लामिछानेसँग विभिन्न चरणमा छलफल गरेका थियौं,’ स्रोतले भन्यो, ‘रास्वपा र बालेन समूह फागुन २१ को चुनावमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल पनि भएको थियो। तर उपसभापति कार्यवाहक सभापति डीपी अर्याल, स्वर्णिम वाग्लेसहितका नेताले वातावरण बिगार्ने काम गर्नु भयो।’
स्रोतका अनुसार बालेनको समूहले निर्वाचनमा नयाँ दल दर्ता नगर्ने र कुलमान संरक्षक रहेको उज्याले पार्टीसँग सहकार्य गरी अगाडि बढ्ने पक्का भएसँगै अब केही दिनभित्रै औपचारिक सहमति गर्ने तयारी भएको छ। उनीहरुबीच प्रत्यक्षतर्फ कति सिटमा लेनदेन गर्ने भन्ने चरणमा विषय प्रवेश गरेको छ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये पाँच निर्वाचन क्षेत्र बालेन समूह र बाँकी पाँच निर्वाचन क्षेत्रमा कुलमानको पार्टीले चुनाव लड्ने गरी सहमति भइसकेको छ। अन्य निर्वाचन क्षेत्रमा पनि सोही आधारमा सहमति खोज्ने प्रयास भइरहेको बताइको छ।
यद्यपि रास्वपा नेताहरुले भने बालेन समूहसँग सकारात्मक छलफल भइरहेको र चाँडै निष्कर्षमा पुगिने दाबी गरेका छन्।
‘अहिले नै सबै कुरा बिग्रियो भन्न मिल्दैन, हामी घनिभूत छलफलमा छौं,’ रास्वपाका एक नेताले डिसी नेपालसँग भने, ‘हामी आगामी निर्वाचनमा सबै भन्दा ठूलो दल बन्ने गरी तयारी गरिरहेका छौं। त्यसका लागि हामीले विचार र मुद्दा मिल्ने सबै दल र समूहसँग छलफल गरिरहेका छौं।’
















Facebook Comment