नेपालमा उत्पादन भएको तोरीको तेल र जुत्ताको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै

डिसी नेपाल
९ मंसिर २०८२ १८:३५
104
Shares

पर्सा । नेपालमा उत्पादन भएका जुत्ता तथा चप्पल अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्दै गएका छन्।

नेपालमा उत्पादन भएका स्पोर्ट सुज तथा छालाका जुत्ता गुणस्तरीय हुनुका साथै उपभोक्तालाई सस्तो पर्ने भएकाले विदेशी बजारमा नेपाली जुत्ताको माग बढ्दै गएको छ।

देशको मुख्य व्यापारिक नाका वीरगन्जबाट पछिल्लो समय भारत तथा तेस्रो मुलुकतर्फ नेपालबाट जुत्ताको निर्यात करिब तीन गुणाले वृद्धि भएको छ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज नाकाबाट ६ करोड रूपैयाको १ लाख ४६ हजार जोड जुत्ता निर्यात भएकोमा चालु आवको सोही अवधिमा २३ करोड रूपैंयाँका ५ लाख ८१ हजार जोडभन्दा बढी जुत्ता निर्यात भएको छ।

नेपालमा उत्पादन भएको जुत्ता तथा चप्पल अन्यको तुलनामा गुणस्तरीय र सस्तो पर्ने भएकाले यसको माग दिनानुदिन बढ्दै गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मात्रिका भट्टराईले जानकारी दिए।

उनले गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा १७ करोड मूल्य बढीका ४ लाख ३४ हजार जोडभन्दा बढी जुत्ताको निर्यात बढ्नुको मुख्य कारण माग बढ्नु नै भएको बताए।

त्यस्तै, नेपालमा उत्पादन भएको तोरीको तेलको गुणस्तर अत्यन्त राम्रो र अन्य देशको तेलको तुलनामा सस्तो पर्न जानाले यसको निर्यात समेत बढ्दै गएको भन्सार अधिकृत भट्टराईले जानकारी दिए।

वीरगन्ज नाकाबाट गत आवको पहिलो चौमासिकमा २४ लाख रूपैयाको ५ हजार ७ सय ८३ लिटर तेल निर्यात भएकोमा चालु आवको सोही अवधिमा ४३ करोड रूपैंयाँको २५ लाख ७ हजार ४ सय २५ लिटर तोरीको तेल निर्यात भएको उनले बताए।

नेपालमा उत्पादन भएको तोरीको तेल सबैभन्दा बढी भारतमा निर्यात हुने गरेको भन्सार कार्यालयका कर्मचारीहरूले बताएका छन्। भारतमा उत्पादन हुने तोरी तेलको तुलनामा नेपाली तेलको गुणस्तर राम्रो भएकाले दिनानुदिन यसको माग बढ्दै गएको कर्मचारीहरूले बताएका छन्।

त्यस्तै, नेपालबाट पछिल्लो समयमा भारत तथा तेस्रो मुलुकतर्फ हेभी सवारी साधनको निर्यात पनि बढ्दो छ। विदेशबाट नेपाल भित्रिएका डोजर तथा एक्साभेटरको निर्यात वीरगन्ज नाकाबाट बढेको छ।

गत आवको पहिलो चौमासिकमा ४२ करोड मूल्यका १ सय १६ थान डोजर तथा एक्साभेटर निर्यात भएकोमा चालु आवमा ४७ करोड मूल्यका १ सय २२ थान हेभी सवारी साधन निर्यात भएको भन्सारले जनाएको छ।

देशको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै भारत तथा तेस्रो मुलुकतर्फ विभिन्न वस्तुको निर्यात १ सय ४४ प्रतिशतले बढेको छ। गत आवको पहिलो चौमासिकमा १३ अर्ब ६४ करोडका विभिन्न मालवस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३३ अर्ब २१ करोडका मालवस्तु निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.