घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना
मुस्ताङ । यहाँको थासाङ गाउँपालिका–४ घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ।
चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दै आइरहेको सो जग्गा गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो। म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसामा केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले २०५८ सालदेखि प्रयोग गरेको थियो।
सशस्त्र द्वन्द्वकालीन समयमा नेपाली सेनाको सुरक्षा पोस्ट शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा रहेको जग्गामा सुरक्षा प्रयोजनका लागि बसेको थियो। गत असारमा नेपाली सेनाले यहाँस्थित सैनिक सुरक्षा पोस्ट जिल्लामा समायोजन गरेको थियो।
जग्गा फिर्ता पाएसँगै केन्द्रले एकाइका रुपमा प्रयोग गर्न प्रक्रिया अघि बढाइसकेको केन्द्रका निमित्त कार्यालय प्रमुख नवीन भुसालले जानकारी दिए।
यहाँ नर्सरी तथा बगैँचा व्यवस्थापनलगायतका कार्यहरु अघि बढाउन गह्रा सुधार, सिँचाइको व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको केन्द्रका निमित्त प्रमुख भुसालले बताए।
यहाँ ओखरका कलमी बिरुवा उत्पादन स्विट चेरी, आरु, आरुबखडा, खुर्पानी, किवी, अङ्गुर लगायतका फलफूलखेतीलाई अघि बढाइने केन्द्रले जनाएको छ।
यहाँको हावापानीमा विभिन्न प्रजातिका फलफूल तथा तरकारी उत्पादन सुरु गरेपछि स्थानीय किसानलाई प्रविधि सिकाइ र जीवनस्तर उकास्नमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment