हवाई यात्राका कुरा (अन्तिम भाग)
कुनै मुलुक वा स्वदेश कै कुनै ठाउँको भ्रमणमा जाँदा प्रयोग हुने यातायातका साधन जस्तै हवाईजहाज, पानीजहाज, रेल वा मोटरगाडी पनि यात्राको एक अभिन्न र रोचक अंग नै हुनृ गर्दछन्। त्यसैले गन्तव्यमा पुग्दा र घर फर्कंदा प्रयोग हुने यातायातका साधनले पनि निकै रोमाञ्चक अनुभूति प्रदान गर्दछन्।
स्वदेश वा विदेश भ्रमण गर्दा हवाईजहाजमा उड्ने कुराले निकै उत्साहित तुल्याउँछ। तर विभिन्न कारणवश यदाकदा हवाईयात्रामा विभिन्न प्रकारका अवरोधहरूको सामना पनि गर्नुपर्ने हुन्छ। हवाई यातायातका विभिन्न खालका तिता-मिठा अनुभवहरू प्रस्तुत छन् यो आलेखमा।
हवाई यातायातलाई मौषमले निकै प्रभावित गर्दछ। एक ठाउँमा राम्रो मौषम भए पनि गन्तव्यमा पुगुञ्जेलसम्म विभिन्न प्रकारका मौषमको सामना गर्नुपर्ने हुन्छ। यस्तोमा सामान्य टर्बुलेन्सदेखि ज्यादै विषम् अवस्थाबाट गुज्रिनु पर्ने हुनसक्छ भने कहिले काहीँ विमान दुर्घटनामा नै पनि पर्न सक्दछ।
दुर्घटनाका कारणहरू मध्ये खराब मौषमको साथसाथै विमानमा आउने प्राविधिक समस्या र आतंकवादको चपेटा वा विभिन्न मुलुकको आकाशमा उड्दा नजिकका विमानस्थल र अन्य विमानसँगको सञ्चारमा पर्ने अन्योल पनि कारक तत्व बन्न सक्दछन्।
करिव एक दशक अघि मलेसियन एयरलाइन्सको एक जेट विमान एम्स्टर्ड्यामबाट उडेर क्वालालम्पुर जाने क्रममा पोल्याण्ड र युक्रेन माथि उडिरहेको बेलामा अगाडी मौषम खराब भएको संकेत पाए पछि चालकले नजिकको कन्ट्रोल टावरसँग थोरै घुमाएर खराब मौषम छल्ने अनुमति प्राप्त गरेर रुट थोरै बदल्दा रुसबाट चलाइएको भनिएको मिसाइलको शिकार बन्न पुगेको थियो त्यो जहाज।
त्यस्तै सन् १९९६ नोभेम्बर १२ मा दिल्ली विमानस्थलबाट १०० किलोमिटर पश्चिममा पर्ने चर्खी दाद्री भन्ने ठाउँको माथि आकाशमा दिल्लीबाट जेद्दाको निम्ति उडेको साउदियाको जम्बो जेट र दिल्लीमा उत्रने तयारी गरिरहेको कजाखस्थानको रसियन जेट जुध्दा ३४९ जना यात्रुको ज्यान गएको थियो।
कजाख विमानले ठीक उचाईमा उड्न नसक्नु, चालक दलको अङ्ग्रेजी भाषाको कमजोरी र दिल्ली विमानस्थलमा सञ्चार उपकरणको कमी जस्ता त्रुटीहरू जाँच आयोगले निकालेको थियो।
सन् १९८८ डिसेम्बर २१ मा अमेरिकी विमानसेवा कम्पनी पानआमको एउटा जम्बो जेट स्कटल्याण्डको लकर्बी नामक शहर माथि उडिरहेको बेलामा लिबियाली आतंकवादीहरूको आत्मघाती बमको कारण आकाशमा नै विष्फोट भएको थियो। सो विमानमा सवार सबै २५९ जनाको मृत्यु भएको थियो। शहरको आवासिय क्षेत्रमा झर्न पुग्दा त्यहाँ पनि ११ जना स्थानीय बासिन्दाको निधन भएको थियो।
९-११ को भयानक घटनामा त अल कायदाका आतंकवादीहरूले अमेरिकाको न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरको ट्विन टावरमा नै लगेर दुई वटा जेट विमान झोसिदिएका थिए। त्यस्तै अर्को एक विमान पेन्टागनमा खसालिएको र अर्को विमान पेन्सिलभानियामा दुर्घटनाग्रस्त भएको थियो।
नेपालको कुरा गर्दा विभिन्न समयमा काठमाडौँमा अन्तर्राष्ट्रिय उडानमा रहेका थाई एयरवेज, पाकिस्तान एयरलाइन्स, लुफ्थान्सा कार्गो, युएस बङ्गला जस्ता विमानसेवाका विमानहरू सयौं यात्रुको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएका थिए भने टर्किस एयरको एक जेट विमान भने ठूलो दुर्घटनाबाट बच्न सफल भएको थियो। यस्ता अनेकन् घटनाहरू घटेका छन् विमान यात्राको इतिहासमा र यस्ता दुर्घटनाबाट धेरै कुराको सिकाई र सुधार पनि भएको छ।
विमान अपहरणमा पर्दा यात्रुहरूले अपहरण अवधिभर निकै सास्ती भोग्दछन्। यस्तो अवस्थामा कतिपय यात्रु त अपहरणकारीको हातबाट पनि मारिन्छन्। टाढाको मुलुकको उदाहरण किन लिनु।
सन् १९९९ को डिसेम्बर २४ मा काठमाडौँबाट नयाँदिल्लीको लागि उडेको इन्डियन एयरलाइन्सको आईसी ८१४ जेट विमान अपहरण गरेर अफगानिस्तानको कन्दाहारमा लगिँदा झण्डै एक हप्तासम्म सबै यात्रुले निकै सास्ती भोग्नु पर्यो भने एक जना नवविवाहित युवकको ज्यान समेत गयो।
सन् १९८१ मार्च २ मा पाकिस्तान एयरलाइन्सको उडान ३२६ को एक जेट विमानको ‘अलजुल्फीकार’ नामक राजनीतिक आतंककारी संस्थाले अपहरण गरेर सिरियाको राजधानी डमास्कसका लागि उड्न वाध्य बनाउँदा तिनै अपहरणकारीहरूले चालक दलका सदस्यहरूलाई जहाज निकै उँचाईमा उडिरहेको बेला ककपिटबाट बाहिर यात्रुकक्षमा ल्याए पछि अचानक ककपिटको ढोका भित्रबाट बन्द हुन पुग्यो र जहाज चालकविहिन बन्यो केही बेरको लागि।
यो अवस्थाले गर्दा अपहरणकारीहरू पनि एक छिन तर्सेछन्। यत्तिकैमा एक जना यात्रुले सो ढोका आफुले खोलिदिन सक्ने कुरा बताए पछि उसलाई अगाडी बोलाएछन्। सो यात्रुले आफ्नो ब्यागबाट एउटा फलामको सुइरो झिकेर सो ढोकाको लकको प्वालमा हालेर घुमाए पछि सो ढोका खोलि दिएछ। पछि बुझ्दा उ एक चोर रहेछ।
उसले आफु विभिन्न मुलुकमा गएर ठूला होटेलमा बस्ने गरेको र त्यहाँ बसेका सम्भ्रान्त पर्यटकहरूको कोठा पत्ता लगाउँदै उनिहरू घुम्न निस्केको बेला त्यसैगरी तिनको कोठाको ढोका खोलेर नगद तथा जिन्सी चोर्ने गरेको बताएछ। यसरी एउटा चोर पनि यात्रा गरिरहेको भएर सो जहाज दुर्घटना हुनबाट बचेको थियो। यस्ता घटना र दुर्घटनाहरू घटिरहने भए पनि विमान यात्रा निकै रोमाञ्चक नै मानिन्छ।
अन्तर्राष्ट्रिय विमानसेवामार्फत लागुऔषधदेखि अन्य धेरै सामानहरू चोरीव्यापार गर्नेहरूको संख्या लाखौँमा नै हुने गर्दछ। विमानस्थल प्रशासनले जतिसुकै सावधानी अपनाए पनि त्यस्ता तत्वले झनै नयाँ तरिकाहरू अवलम्बन गर्ने गर्दछन्।
लागुऔषध्, सुन तथा हिराजवाहरात, विदेशी मुद्रा, वन्यजन्तुका अंग आदि धेरै वस्तु र मानव तस्करी समेत गरिन्छ हवाईमार्गबाट। नेपालमा पनि ठूलो परिमाणमा सुन भित्रने गरेको छ भने नेपालबाट मानव तस्करी गर्ने ठूलै गिरोह रहेको र त्यसको बचाव गर्ने उच्च तहका मानिसहरू नै भएको कुरा छापा तर सामाजिक सञ्जालमा पढ्न सकिन्छ। नेपाल वायुसेवा निगमका कतिपय चालक तथा चालकदलका सदस्यहरू समेत सुन तथा विदेशी मुद्रा तस्करीको क्रममा पक्राउ परेका समाचार बेला बेलामा सुनिन्छन्।
राजा महेन्द्रले उच्च हिमाल र पहाडका केही पिछडिएका जातीको उत्थानको निम्ति झिटीगुन्टा प्रणाली शुरु गराएका थिए र सो अन्तर्गत त्यस्ता जातीका मानिसले विदेशबाट अन्य यात्रुले भन्दा धेरै सामान ल्याएर बजारमा बेच्न पाउँथे।
पछि ती जातीले सामान बोक्ने भरीयाहरू उता लग्दै ठूलो परिमाणमा झिटीगुन्टा अन्तर्गर सामान ल्याएर निकै आर्थिक लाभ गरे र पछि ठूलै व्यापारी र होटेल व्यवसायीको रूपमा देखिन पुगे। नेपालका पछिल्ला सरकारहरूले यो प्रणालीलाई अझै वृहत् बनाए पश्चात् धेरै युवाहरू भरीयाको रूपमा हङकङ र व्याङकक लगिन थाले र त्यहाँबाट सामान ल्याएर नेपालमा बेच्न थाले।
एक प्रकारले विपन्न युवाहरूले विमानको यात्रा गर्न र देश-विदेश देख्ने मौका पनि पाए। अझ बढी फाइदाको निम्ति त्यस्ता व्यापारीहरूले सामान बोक्ने भरीयाहरूलाई ढाकामा राखेर हङकङ, सिंगापुर र व्याङककमा खरिद गरेका सामान ढाकामा ल्याएर सबैलाई बोकाएर ल्याउन थाले।
मेरा कैयन् पटकका सिंगापुर, हङकङ तथा बैंकक यात्रा र ती विमानस्थलहरूका ट्रान्जिटमा बसेर काठमाडौँ फर्कने क्रममा विमान चढ्ने बेलामा व्यापारीहरूले आफ्ना दर्जनौँ भरीयाहरूलाई ३-४ वटा सानादेखि ठुला पाइन्ट र कमीज, त्यतिकै संख्यामा ज्याकेट, नयाँ जुत्ता तथा शरीरमा लगाउन सकिने जति कपडा, खास्टो लगाइ दिएर शिरमा एकुन्टा काओब्वाई ह्याट र घाँटी, नाडी तथा औँलामा टन्न सुन लगाइ दिएर हातमा छाता र ह्याण्ड ब्यागमा सुविधा मुताविकका उस्तै सामान कोचेर केही घण्टाको निम्ति अचम्मका जन्तु बनाएर विमानमा चढाउने गरेको दृश्यले विदेशी यात्रु समेत छक्क पर्ने गरेका थिए र फोटो तथा भीडीयो खिच्ने गर्दथे।
त्यहाँका कर्मचारीहरू समेत हाँसेर तमासा हेरीरहन्थे। ती भरीयाहरू काठमाडौँ पुगेर भन्सारको काउन्टरबाट बाहिर निस्के पछि व्यापारीका मानिसहरूले तिनलाई एउटा कुनामा लगेर सबै कपडा, ब्याग र सामान एकतृत गर्थे। यो सब गरे वापत ती भरीयाले केही रकम पाउँथे। यसरी भरीया भएर जानेमा कतिपय युवतीहरू पनि हुने गर्दथे।
आजभन्दा तीन दशक अघिसम्म पनि उडिरहेको विमानभित्र धुम्रपान गर्न मिल्दथ्यो। हामी चढेका विमानमा पनि धुवाँ उडाउँदै धेरैले धुम्रपान गर्दथे। विमानको पखेटामा इन्धनको ट्यांकी हुने भएकोले सो क्षेत्रलाई भने धुम्रपान निषेधित क्षेत्र तोकिएको हुन्थ्यो।
धेरै पहिले एक चोटी मेरा पिताजी युरोपको कुनै रुटमा उडान भर्न तयार रहेको बेलामा केही प्रहरीहरू सो जेट विमानभित्र पसेर एकजना पाइपमा धुम्रपान गरिरहेका भलाद्मीको अगाडि आएर उनको पाइप खोस्दै त्यस्लाई भाँचेर घुमाउँदा सो पाइपबाट ठूलो परिमाणमा ससाना बहुमूल्य हिराहरू निस्किएका थिए रे। त्यसैले प्रविधिसँगै नयाँ नयाँ तस्करी गर्ने तरिका पनि बनिरहेको हुँदोरहेछ।
एक पटक सिंगापुरबाट अकल्याण्डको लामो यात्राको क्रममा मेरो सिटभन्दा भित्रको झ्यालसँगैको सिटमा बसेकी चिनियाँ अधवैँशे महिलाले दर्जनौँ पटक मलाई उठाएर शौचालय गएको घटनाले ज्यादै दिक्क तुल्याएको थियो।
त्यसरी पेट खराब भएको वा छिन छिनमा शौच गर्न शौचालय गइरहनु पर्ने यात्रुले विमानका कर्मचारीलाई आफ्नो समस्या बताएर बाटोको छेउको (आयल) सिट माग्दा राम्रो हुने थियो।
मेरै सिटसँगै बसेर यात्रा गरिरहेको अर्को एकजना संम्भ्रान्त देखिने विदेशी यात्रुले रुघाले ग्रस्त भएको कारण टिस्यू पेपर निकाल्दै सिँ सिँ गरेर घण्टौँसम्म नाक सफा गरेको र आफ्नो सिटको मुनि फोहर टिस्यूहरूको चाङ लगाएको देखेर घिन लागेकोले मैले आफ्नो लामो यात्राको सिट नै बदल्नु परेको थियो।
सन् १९७० को दशकको मध्यतिर चीनको औपचारिक भ्रमण सकेर एकचोटी मेरा पिताजी नेपाल फर्कनको निम्ति हवाईजहाजमा बसि सकेपछि एकजना सरकारी कर्मचारी हतारिँदै विमानभित्र आएर पिताजीलाई एउटा खाम दिँदै उहाँले होटेलमा छोडेको सामान त्यसमा हालेर ल्याइदिएको कुरा बताएछन्। पछि खाम खोलेर हेर्दा त होटेलको शौचालयमा स्नान गर्दा खसेको पिताजीको जनै पो रहेछ।
वि.सं. २०३०-३१ तिरको कुरा हो, माउन्टेन फ्लाइटमा रहेको तत्कालिन शाही नेपाल वायुसेवाको एक एभ्रो विमानको आकस्मिक ढोका रहेको सिटको झ्यालबाट हिमालको फोटो खिचिरहेका एक जापानी वृद्ध यात्रुले सो ढोका अकस्मात खुलेर बाहिर झरेपछि आत्तिएर आफुसँग भएको क्यामेरा पनि बाहिर खसालेका रहेछन्।
धन्न सिटको बेल्ट लगाएको भएर उनी सकुशल रहे तापनि ढोकाबाट छिरेको बेत्तोडको हावाको कारण र ह्वाङ्ग भएको ढोकाले गर्दा आत्तिएर ती जापानी बेहोस भएछन्। पछि उनको क्यामेरा र विमानको ढोका सेनाको हेलिकप्टरले सकुशल भेटेको थियो।
कैयन् पटक सुरक्षाका उपाय अवलम्बन गर्दा गर्दै पनि खासगरी आकस्मिक ढोका रहेको ठाउँको सिटमा बस्ने यात्रुको गल्तीले गर्दा ढोका खुल्न गई ठूलै दुर्घटना वा असहज स्थिति निम्तिने गर्दछ।
एक पटक विराटनगरबाट काठमाडौँको निम्ति बुद्ध एयरको बिचक्राफ्ट विमानमा उडिरहेको बेलामा आफ्नै नजिकका एक सुस्त मनस्थितिका जस्ता देखिने अधवैँशे यात्रुले हाँस्दै बेला बेलामा आकस्मिक ढोका खोलुँला जस्तो गर्दा विमान अवतरण नहोउञ्जेलसम्म डर लागिरहेको थियो।
त्यस्तै एक पटक थाई एयरवेजको विमानमा बैंककबाट काठमाडौँ फर्कंदा रक्सीको सुरमा दुई जना यात्रुले एकापसमा झगडा गरेर सबैलाई तर्साएका थिए। तर त्यतिबेला एक अनुभवी विमान कर्मचारीले तिनीहरूलाई शान्त तुल्याएको थियो।
त्यस्तै केही वर्ष पहिले सिङ्गापुर जान लागेका एक नाम चलेका व्यवसायीले त्रिभुवन विमानस्थलको लाउञ्जमा बसेर निकै रक्सी धोके पछि विमानमा पस्ने बेलामा ढुन्मुनिँदै सिंगापुर एयरलाइन्सका परिचारिकाहरूलाई नराम्रो शव्द बोले पश्चात् विमानका चालक आपैm ढोकामा आएर ती यात्रुलाई लिएर जान नसक्ने कुरा बताए पछि प्रहरीले उनलाई फिर्ता लगेको थियो।
मेरा पिताजी पाकिस्तानको निम्ति शाही नेपाली राजदुत छँदा एक चोटी राजा वीरेन्द्रको राजकीय भ्रमण भएको थियो। शाही नेपाल वायुसेवा निगमको बोइङ ७२७ विमानमा आउनु भएका राजा, रानी र उहाँका भ्रमण दलका सदस्यहरूको लागि पिताजीले इस्लामावादस्थित आफ्नो निवासमा रात्रीभोजको आयोजना गर्नुभएको थियो।
भित्री वैठकमा राजारानी र उच्च पदस्थ व्यक्तिहरू बसेका थिए भने बाहिर टाँगिएको पालभित्र भ्रमण दलका अन्य सदस्य र विमान चालकदलका टोली थिए। राजारानी रहेको भित्रको वैठकमा होटेलको म्यानेजरको साथमा खानपानको व्यवस्थाको निम्ति मलाई पिताजीले खटाउनु भएको थियो।
त्यतिकैमा बाहिर निकै होहल्ला गरेर जिस्किएको आवाज आयो। राजाले मुस्कुराउँदै ‘के भो तिनीहरूलाई ? रक्सी पुगेन कि क्या हो ?’ भनेर सोध्नु भएपछि मेरा पिताजीले झ्यालबाट बाहिर हेरेर हाँस्दै ‘रक्सी बढी भएछ सरकार !’ भन्दा सबै गललल्ल हाँसे। बाहिर अन्य केही सहित मुख्य चालक बबी शाहलाई रक्सीको कारण धेरै नै मात लागेको रहेछ। दुई जनाले बोकेर गाडीमा राख्न लगेको राजाले पनि झ्यालबाट देख्नु भयो।।
अन्तर्राष्ट्रिय चलन अनुसार विमान उडाउनु भन्दा ८ घण्टाअघिदेखि विमान चालकहरूले अल्कोहल सेवन गर्नु हँुदैन भने पनि २४ घण्टादेखि शरीरमा अल्कोहल हुन नहुने कडा नियम छ। तर राजाको उडानमा रहेका चालकले भोलिपल्ट राजा कै विमान उडाउनु पर्नेमा अघिल्लो दिनसम्म त्यसरी रक्सिमा मातिँदा पनि राजा हाँसेर बसिरहनु भएको थियो।
बबी शाह निकै अनुभवी र हँसमिजासका चालक भए पनि उनले यस्ता बचपना देखाई रहन्थे। सुन्नमा आए अनुसार युवावस्थामा उनले डकोटा विमान चलाउँदा काठमाडौँ विमानस्थलमा अवतरण गर्ने क्रममा निकै तल झर्दै आएको विमानबाट सानेपाको आफ्नो घरको माथितिर आए पछि छतमा बसिरहेकी श्रीमतीलाई हात हल्लाएर जाने गर्दथे रे। यिनले कैयन् पटक जेट विमानमा गडबडी आउँदा निकै संयमित तवरले आपतकालिन अवतरण समेत गराउन सफल भएका थिए। त्यसैले पनि राजा वीरेन्द्र यिनीसँग प्रसन्न हुनुहुन्थ्यो।
करिव अढाई दशक अघि म आफैं चढेको कस्मिक एयरको जेट विमान विराटनगरमा अवतरण गरेपछि प्रहरीले सो विमानका एकजना रुसी चालकलाई गालामा चड्कन हान्दै पक्रेर लगेको देखेको थिएँ। पछि बुझ्दा ती चालकले रक्सीले धुत भएर विमान उडाएका रहेछन्।कोपाइलट पनि अनुभवी भएकोले मात्र हाम्रो ज्यान बचेको रहेछ।
एकजना किङ नामको विदेशी वरिष्ठ चालकले हामी साना छँदा शाही नेपाल वायुसेवा निगमको डकोटा विमान उडाउने गर्दथ्यो। उसले कैयन् पटक उच्च पदस्थ सरकारी अधिकारी तथा अन्य यात्रु चढेको विमानलाई पहाडमा ठोक्किएला ठोक्किएला जस्तो गरेर सबैलाई तर्साएर अघि बढ्ने र पछाडि यात्रुहरूको क्रन्दन हेरेर मजा लिने गर्दथ्यो रे।
आखिर उसको नेपालमा अन्तिम उडानको दिन नेपाली सेनाका जवानहरूलाई प्यारा जम्पिङ गराउन लग्दा त्यसैगरी धुलिखेलको एक पहाडको नजिक पुर्याएर घुमाउन खोज्दा रुखमा विमानको पखेटाले छोएर विमान दुर्घटना हुन पुग्यो र उ सहित प्याराजम्प गरेर हावामा तैरिँदै तल जमिनमा अवतरण गर्न लागेका अधिकांश सैनिकहरू समेत आगोको लप्का खसेर प्यारासुटमा परेपछि मर्न पुगे।
खासगरी कम विकसित मुलुकहरूमा चरम भ्रष्टाचार र अनियमितता तथा कुशासनले गर्दा त्यहाँका जनताहरू जसरी भए पनि मुलुक छोडेर विदेश जान लालायित हुने गर्दछन्। हाम्रो मुलुक नेपालमा पनि निकै दशकदेखि यसरी मुलुक बाहिर रोजगारीको निम्ति जाने चलन चलेको छ र वर्षेनी हजारौँको संख्यामा नेपालीहरू विदेशिने गरेका छन्।
नेपालका रोजगारीको ठेक्का लिएका संस्थाहरूले नानाथरी आशा र लोभ दखाउँछन् भने काम गर्ने मुलुकमा पुगेपछि श्रमिकहरूलाई भनिएको कामको साटो विभिन्न दुखकष्टपूर्ण र ज्यादै नगण्य रकम प्राप्त हुने काममा लगाइन्छ।
खाडीमा जानेहरू मध्ये कतिपय त त्यहाँको चरम गर्मीले गर्दा निकै बिरामी हुग्छन् र प्रति दिन २-३ जनाको मृत्यु भएर काठको बाकसमा उनको शव मात्र नेपाल फर्कने गरेको छ। यसरी वर्षेनी २,००० जति नेपालीको शव विमानद्वारा नेपाल फर्काइन्छ। यो एउटा निकै दुखद् नियती हो नेपालीहरूको।
नेपालीको भन्दा पनि धेरै नाजुक हालत भएका मुलुकका कतिपय मानिसहरूले त विदेशिने आशामा रातीको बेला लुकिछिपी जेट विमानको पाङ्ग्राबाट भित्र पसेर निकै कष्टपूर्ण यात्रा गर्ने कोशिशमा आफ्नो ज्यानै गुमाउन पुगेका छन्।
विमानभित्रको चक्का रहने सानो ठाउँमा बस्दा कोचिएर मरिने सम्भावना हुन्छ भने कोही कोही केही बेर बाँच्न सफल भए पनि विमान उडेपछि चक्का भित्र पस्दाको गरम हावा र विमानले निकै उँचाई लिए पछिको चरम ठण्डीले गर्दा कक्रिएर नै मर्ने गर्दछन्। यस्ता घटनाहरू धेरै चोटी घटिसकेका छन्।
अर्को तर्फ विदेशमा निकै दुख कष्ट गरी केही रकम जोगाएर घर परिवारको निम्ति केही चिनो लग्ने श्रमिक हुन् वा केही दिन बिदा मनाउन विदेशमा घुमेर फर्कने यात्रुहरू हुन् तिनका सुटकेसहरू विमानस्थलमा नै खोलेर सामान चोर्ने गिरोहका कारण विमान यात्रुहरू निकै चिन्तित रहने गर्दछन्।
माथि उल्लेख भएका जस्ता विमान यात्राका असंख्य रोचक र हृदयविदारक कहानीहरू छन्। तर जे होस् राइट ब्रदर्सले सन् १९०३ मा पहिलो चोटी उडान गरिदिएकोले नै हवाईयात्राले आजको रूपमा पुग्न सकेको छ। नमन छ ती दुई दाजुभाइ ओर्भिल र विल्बर राइटलाई।
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment