एमाले ११औं महाधिवेशनः ओली र पोखरेललाई महासचिव टुंगो लगाउन सकस
फाइल फाेटाे
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन शनिबार (भोलि)देखि सुरु हुँदै छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरिए पनि महासचिवको टुंगो लगाउन दुवै नेतालाई सकस परेको छ।
अध्यक्षपछिको शक्तिशाली पद मानिएको महासचिव पदको उम्मेदवार हुन नेताहरूको दौडधुप बढेको छ। तर, अध्यक्षका प्रतिस्पर्धी ओली र पोखरेल महासचिवमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगोमा पुग्न सकेका छैनन्।
तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका ओली समूहबाट महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले दाबी गरेका छन्।
यस्तै, वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट, योगेश भट्टराई महासचिव पदका लागि दौडधुपमा रहेका छन्। विष्ट र भट्टराईले महासचिव बन्ने लबिइङ गर्दैगर्दा पाण्डे भने मौन बसेका छन्। पाण्डे पोखरेल समूहको सहमतिमै महासचिव बन्ने र अरू नेताको चित्त दुखाउने काम नगर्ने निष्कर्षमा पुगेका छन्।
ओली समूहमा रहेका पृथ्वीसुब्बा गुरुङले ओली समूहबाटै महासचिव नपाएर पोखरेल समूहमा समाहित भएको अवस्थामा पाण्डे, विष्ट र भट्टराईले उनलाई नै महासचिव स्वीकार गरेर अन्य पदमा बस्न तयार रहेको बताइन्छ।
अध्यक्ष पदबाहेक अन्य पदमा आफ्नो समूहबाट ककसलाई उम्मेदवार बनाउने विषयमा ओली र पोखरेल दुवै समूह आन्तरिक छलफलमै छ। ओली समूहले आफ्ना नेतालाई रोक्न खोजिरहेका बेला पोखरेल समूहले ओली समूहका नेतालाई विभिन्न पदको ‘अफर’गर्दै आफ्नो तर्फ तान्ने प्रयास गरिरहेको छ।
तयारी अन्तिम चरणमा
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्। एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १३ समिति गठन गरेर तयारी थालेको उनले बताए।
बुधबार बिहानैदेखि पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा नेता तथा प्रतिनिधिको चहलपहल बढेको छ । नेता तथा कार्यकर्ता एकआपसमा महाधिवेशनको नेतृत्वका विषयमा छलफलमा समेत जुटेका छन्। पार्टी कार्यालयमा धेरैजसो युवा नेता दिनभरि नै भरिभराउ देखिन्छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले तीन–चार दिनदेखि पार्टी कार्यालयमा भीडभाड बढेको बताए।
महाधिवेशनमा सहभागी हुने करिब ७५ प्रतिशतभन्दा बढी प्रतिनिधि काठमाडौं आइसकेका छन् । यसैबीच, शुक्रबार (आज) एमाले सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख गौतमले जनाएका छन् । ।
एमालेका संगठन विभाग एवं प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि २ हजार ५ सय ७१ रहेको जनाएका छन् । उद्घाटनसत्र भक्तपुरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । अहिलेको मौजुदा विधानमा हेरफेर नभए महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।
फेरि अध्यक्ष हुनसक्छुः ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औं महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।
उनले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रहसमेत गरेका छन् ।
ओलीले एमाले लामो इतिहास भएको पार्टीका रूपमा रहेको बताउँदै यो जनचाहनाअनुसार चल्ने पार्टी भएकाले यसले देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको उल्लेख गरे ।
उनले एमालेलाई सिध्यायौं भन्नेहरूले एमाले हैसियत हेर्न २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनको उद्घाटनसत्रमा आउन आग्रहसमेत गरेका छन् ।







डिसी नेपाल








Facebook Comment