यात्रुवाहक बस भिरबाट खस्दा ९ जनाको मृत्यु
काठमाडौं । आन्ध्र प्रदेशको अल्लुरी सीतारामराजु जिल्लामा यात्रु बोकेको बस भिरबाट खस्दा नौ जनाको मृत्यु भएको छ।
बीबीसी तेलुगुका अनुसार रामपाचोदावरमका उप-जिल्लापालक शुभम नकवालले बीबीसीलाई बताएअनुसार बस अराकुबाट भद्राचलम जाँदै गर्दा साँझ ५ बजेतिर दुर्घटना भएको थियो।
बसको गियरबक्सले काम नगरेको कारण चालकले मोड लिने क्रममा बस नियन्त्रण गर्न नसकेको बताएको उप-कलेक्टरले बताए।
चित्तूर आईटीडीए प्रहरी चौकीका प्रमुख स्मरण राजले बीबीसीलाई बताएअनुसार नौ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन्।
यस बसमा चित्तूर जिल्लाका भक्तजनहरू यात्रा गरिरहेका थिए।
दुई चालक सहित ३७ जना सवार बस तुलसीपकलाबाट नौ किलोमिटर टाढा घाटको बाटोमा यात्रा गर्ने क्रममा भिरबाट खसेको बताइएको छ।
आन्ध्रका मुख्यमन्त्री चन्द्रबाबु नायडूले घटनाप्रति दुःख व्यक्त गरेका छन्।
एक्समा उनले लेखे , “निजी बस दुर्घटनाबाट हामी सबै गहिरो स्तब्ध भएका छौं। यस दुर्घटनामा धेरैको ज्यान गएको कुरा अत्यन्तै दुःखद छ। मैले दुर्घटनाको बारेमा अधिकारीहरूसँग कुरा गरें र प्रभावित व्यक्तिहरूलाई प्रदान गरिँदै आएको सहयोगको बारेमा सोधपुछ गरें। घाइतेहरूलाई उत्तम चिकित्सा सहायता सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्न अधिकारीहरूलाई निर्देशन दिएको छु।”
प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्।







डिसी नेपाल








Facebook Comment