रोटरी क्लबहरूको संयुक्त पहल : तारकेश्वरका विद्यार्थीलाई सहयोग
काठमाडौं। “राम्रोको लागि एकजुट हुनुहोस्” भन्ने आदर्शलाई व्यवहारमा उतार्दै विभिन्न रोटरी क्लबहरूको संयुक्त पहलमा तारकेश्वर–५ स्थित नागार्जुन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री, खेलकुद सामग्री तथा सामुदायिक पानी फिल्टर वितरण गरिएको छ।
उक्त सहयोगले विद्यार्थीहरूलाई आवश्यक सामग्री मात्र होइन, शिक्षा निरन्तरताप्रति आशा, आत्मविश्वास र उज्यालो भविष्यप्रतिको भरोसा पनि प्रदान गरेको छ।

रोटरी डिष्ट्रिक्ट ३२९२ तथा रोटरी क्लब अफ गोंगबु, काठमाडौं, काठमाडौं सर्कल, काठमाडौं हाइट, बागमती काठमाडौं, पाटन, बालाजु, मातृभूमि बालुवाटार, काठमाडौं डाउनटाउन, राजधानी, काठमाडौं मेट्रो, मध्यपुर, हेटौंडा र टिंकुने काठमाडौंसहित १४ वटा रोटरी क्लबहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सदस्य, रोटरी जिल्ला पदाधिकारी तथा विभिन्न रोटरी क्लबका अध्यक्ष एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
२०१९ सालमा स्थापना भएको नागार्जुन माध्यमिक विद्यालयमा हाल आर्थिक रूपमा कमजोर पृष्ठभूमिका ४०८ जना विद्यार्थी ECD देखि कक्षा १० सम्म अध्ययनरत छन्।

आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको शिक्षा अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ विद्यालयले निरन्तर प्रयास गर्दै आएको छ। सोही उद्देश्यलाई साकार पार्न रोटरीको सामूहिक सेवाभावले महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।
कार्यक्रमअन्तर्गत करिब ५ लाख ३५ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरिएको थियो। रोटरीको लोगो अंकित ४ हजार थान कापीसहित कपि, कलम, पेन्सिल, क्रेयन, इरेजर, कटर, स्केल तथा अन्य स्टेशनरी सामग्री विद्यार्थीहरूलाई प्रदान गरिएको थियो।

साथै २४ थान फुटबल जर्सीसहित विभिन्न खेलकुद सामग्री वितरण गरिनुका साथै विद्यालयका लागि सामुदायिक पानी फिल्टर पनि हस्तान्तरण गरिएको छ, जसले आगामी दिनमा विद्यार्थीहरूलाई सुरक्षित र स्वच्छ पिउने पानी उपलब्ध गराउनेछ।
विद्यालय व्यवस्थापन समितिकी जेष्ठ सदस्य श्रीमती प्रमोदा देवी पौडेल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रोटरी जिल्ला ३२९२ का पूर्व गभर्नर तथा Past President, Rotary Club of Kathmandu Midtown, रोटेरियन योगेन्द्रमान प्रधान रहेका थिए।

उनले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न प्रेरित गर्दै विद्यालयका आवश्यकताअनुसार रोटरीमार्फत थप सहयोग गर्न सदैव तयार रहेको बताए। साथै भविष्यमा WASH र TEACH कार्यक्रममार्फत थप परियोजना सञ्चालन गर्ने सम्भावनाबारे पनि उनले उल्लेख गरे।
रोटरी क्लब अफ गोंगबुका अध्यक्ष तथा रोटरी एक्सन ग्रुपका संयोजक रोटेरियन राजा राम फुयालले रोटरीले शिक्षा, स्वास्थ्य, वातावरण र आयआर्जनका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै भने, “हाम्रो लक्ष्य समाजको समग्र उत्थानमा योगदान पुर्याउनु हो। विद्यार्थीहरूलाई शिक्षाप्रति प्रेरित गर्नु र उनीहरूको भविष्य सुरक्षित बनाउनु नै हाम्रो प्रमुख उद्देश्य हो।”

रोटरी क्लब अफ काठमाडौं सर्कलका अध्यक्ष रोटेरियन निलहरी कोइरालाले स्वास्थ्य र शिक्षा एक–आपसमा गहिरो रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै स्वच्छ पानी गुणस्तरीय शिक्षाको आधार भएको बताए।
विद्यालयकी प्रधानाध्यापक रामकुमारी पौडेलले मेयर कपलगायत विभिन्न खेलकुद प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले हासिल गरेका उपलब्धिप्रति गर्व व्यक्त गर्दै रोटरीको सहयोगले विद्यार्थीहरूलाई ठूलो लाभ पुग्ने बता। कार्यक्रममा उत्कृष्ट खेलाडी विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो।







डिसी नेपाल








Facebook Comment