अमेरिकामा स्वः अम्बर गुरुङको म्युजिक भिडियो ‘राजमार्ग’ सार्वजनिक

डिसी नेपाल
३० भदौ २०७६ ७:५३

वासिङ्टन डिसी । नेपाली सुगम संगीतका शिखर पुरुष स्वः अम्बर गुरुङद्वारा रचित एवं संगीतबद्ध गरिएको ‘राजमार्ग’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । अजम्बरी गीत संगीतका सर्जक गुरुङद्वारा रचना र संगीतबद्ध गरिएको सो गीतमा गायक वसन्त खडकाले स्वर भरेका छन्।

करिब २५ बर्ष अघि सृजना गरिएको सो गीत आज आफ्ना गुरुप्रति समर्पित गर्दै सम्पूर्ण दर्शक र श्रोतामाँझ श्रब्यदृश्य प्रस्तुत गर्न पाएकोमा आफु अत्यन्तै हर्षित भएको कुरा गायक खड्काले बताए । अमेरिकामा रहेर पनि नेपाली कला, संचार र संस्कृतिको प्रवर्धन र संरक्षणका निम्ति निरन्तर लागि परेका कलाकर्मी, संचारकर्मी, गीतकार तथा समाजसेवीहरुको एक बिशेष भेटघाट कार्यक्रममा कन्चन इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सो भिडियो सार्वजनिक गरिएको हो ।

गुरुङद्वारा संगीतबद्ध तथा गोपाल प्रसाद रिमालद्वारा रचित किरण प्रधान, रबिन शर्मा र सुनिता सुब्बाको स्वरमा सजिएको ‘रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो’ राष्ट्रिय गीतबाट कार्यक्रमको शुभारम्भ गर्दै अम्बर गुरुङप्रति गीत समर्पण गर्दै पाँच बर्षीय बालिका कन्चन खड्का,मुस्कान खड्काका साथै सुप्रिया बिष्ट र सोफी बिष्टद्वारा सामुहिक रुपमा गीतलाई लोकार्पण गरिएको थियो।

कार्यक्रममा गायक खड्काले सम्पूर्ण दर्शकहरुलाई स्वागत गर्दै गीत तयारी गर्न सहयोग र प्रोत्साहन गर्नु हुने सम्पूर्ण व्यक्ति र संस्थाहरुलाई लाईभ कार्यक्रम मार्फत धन्यवाद ब्यक्त गरे। जिन्दगीको अन्तिम पलसम्म पनि नेपाली गीत संगीतको सृजनामा आफ्ना जीवन अर्पेका अम्बर गुरुङको कालजयी गीतहरु संस्मरण गर्दै शिव बिष्टले कार्यक्रम संचालन गरेका थिए।

सो कार्यक्रममा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता बिशाल भारतीले गीतको समिक्षा गर्दै प्रस्तुत गीति भिडियो हेरी सकेपछि आफुलाई आफ्नो प्यारो मातृभूमि नै पुगे झैं अनुभूत भएको धारणा ब्यक्त गर्दै गायन र संगीतको राम्रो सन्तुलन रहेको र उत्कृस्ट छायांकन समेत रहेको बताए।

त्यसै गरि कार्यक्रममा गायक मनोज राईले अम्बर गुरुङको शब्द र संगीतमा गीत गाउन पाउनु अत्यन्तै ठुलो उपलब्धि र भाग्यमानी दुवै भएकोमा गायक खड्कालाई शुभकामना र बधाई दिएका थिए। अत्यन्तै पारिवारिक सांगीतिक बातावरणमा सम्पन्न सो कार्यक्रममा गायकहरु सुदन गैरे, मनोज राई र बिशाल भारतीले आ आफ्ना सुमधुर आवाजहरुले साँझलाई संगीतमय बनाएका थिए।

रात्रीभोजन सहित सम्पन्न सो कार्यक्रममा गीतकार प्रल्हाद शाह, समाजसेवी तथा बुद्धिजिबीहरु सान्त्वना खड्का, हरेराम शर्मा, देवराज बसेल (सुस्मा बसेल, श्याम डाँगी, शिरिषा दुलाल, सरोद डाँगी, हर्क प्रधान, डा. अर्चना सुबेदी लगाएतका महानुभावहरु सहभागी भै गायक खड्कालाई बधाई दिँदै सांगीतिक वातावरणमा रमिरहेका थिए।

राष्ट्रिय गानका समेत संगीतकार रहनु भएका नेपाली गीत संगीतका महान श्रष्टा स्वः अम्बर गुरुङद्वारा रचित एवं संगीतबद्ध गरिएको ‘राजमार्ग’ नामक सांगीतिक भिडियो नेपालको पूर्वी क्षेत्रको मनोरम प्राकृतिक स्थानहरुमा छायांकन भएको थियो। सो भिडियोमा नेपाली नेपाली लोक, आधुनिक तथा चलचित्रमा उत्कृष्ट अभिनय गरेका अभिनेता सुरबीर पण्डित लगायत अनिता बस्नेत र सुवास थापाको जीवन्त अभिनय ले दर्शकको मन जित्न सक्नेमा गायक खड्का आशावादी छन्।

मधुर बस्नेतको छायांकन रहेको म्युजिक भिडियो बाबुराजा के. सी.  ‘उज्ज्वल’ले निर्देशन गरको हुन् भने स्वर रेकर्ड समिर मानन्धर, ध्वनी संयोजन तथा समिश्रण दिप तुलाधर र सम्पादन नविन घर्तिमगरको रहेको छ। यस अघि गोधुली, लालिमा, छहरा जस्ता आधुनिक गीति संग्रह र मृगतृष्णा नामक गजल संग्रह श्रोता र दर्शक सामु प्रस्तुत गरिसकेका गायक खड्काले निकट भविस्यमा कन्चन नामक गीति संग्रह दर्शक र श्रोता समक्ष प्रस्तुत गर्ने बचन बद्धता ब्यक्त गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *