नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधनको माग व्यापक रूपमा उठिरहेको छ ।
हिजोको बैठकमा अधिकांश नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सकिने कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए । विशेषगरी पार्टी संगठनलाई चुस्त बनाउने गरी महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।
बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा विस्तृत ब्रिफिङ गरेका थिए । उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जाने प्रस्ताव अघि सारेका छन् ।
थापाको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने बताइएको छ ।







डिसी नेपाल








Facebook Comment