कठपुतली सरकार ल्याउने चुनावलाई वहिष्कार गर्नुपर्छ : सीपी गजुरेल
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन्।
शुक्रबार १३३औं माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढंगले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए।
उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ। त्यो विचित्र ढंगले आएको छ। चुनाव हुन नियमित ढंगले समय पुगेको हुनुपर्छ। समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो। त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन। पत्रकारले सोधे भने प्रधानमन्त्री सुशीला कार्कीले यो आवश्यक हो मात्र भनेर जवाफ दिने। चुनाव माग कसले गरेको छन् ? साम्राज्यवादीहरुलाई अहिले चुनाव चाहिएको छ। साम्राज्यवादीले विश्वास गरेका मान्छेलाई सरकारमा ल्याएर चुनाव गराउँछन्। वैधानिकता हासिल गर्न एउटा कठपुतलीलाई ल्याएर राख्न गर्न लागेका छन्। त्यसैले हामीले त्यसको बहिस्कार गर्नुपर्छ।’
त्यस्तै उनले नेपाली राजनीतिमा अहिले सिद्धान्तको विचलन व्यापक रुपमा भइरहेको पनि बताएका छन्। पार्टीका व्यक्तिहरु सिद्धान्तमा हिड्नुको सट्टा निषेधित गर्ने काममा जुटेको उनको भनाई छ।
उनले भने, ‘अहिले सिद्धान्तमा विचलन व्यापक रुपमा सबैतिर आइराखेको छ। कुनै पनि पार्टीका मान्छेहरु सिद्धान्तमा स्थिर भएर बस्न सक्दैनन्। बरु उनीहरुले नयाँ सिद्धान्त प्रतिपादन गरेका छन्। आफूलाई चाहिएको काम गर्ने केका लागि सिद्धान्त चाहियो ? सिद्धान्तलाई निषेध गर्ने उनीहरुको राजनीति हो। एक प्रकारले सिद्धान्तलाई कमजोर बनाउने काम गरिरहेको छन्।’ सिद्धान्तको र विचारको रक्षा नगरे संसारमा प्रगति र क्रान्ति नहुने पनि उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment