मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

डिसी नेपाल
१३ पुष २०८२ १७:४०
40
Shares

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गरेका छन्।

आज बिहान पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल’ को उद्घाटनपश्चात् उनले नेपाल टेलिकमको प्रादेशिक कार्यालय र तालचोकस्थित एनसेल डाटा सेन्टरको निरीक्षण गरे।

टेलिकम कार्यालयमा निर्देशक वसन्त लिङथेप, उपप्रबन्धक हरि के शर्मालगायतले मन्त्री खरेललाई स्वागत गरेका थिए। उनीहरूले कार्यालयबाट भइरहेका सेवा प्रवाहबारे जानकारी गराए।

त्यस अवसरमा मन्त्री खरेलले नेपाल टेलिकमको सेवालाई समयसापेक्ष प्रभावकारी बनाउनुपर्ने बताउँदै विद्यमान समस्या समाधानाका लागि नीतिगत रूपमा गर्नुपर्ने विषयलाई अघि बढाउनेमा आफू तयार रहेको बताए। उनले देश निर्वाचनमा अघि बढिसकेको उल्लेख गर्दै देशलाई स्थायित्वसँगै समृद्धि र विकासको बाटोमा लैजान निर्वाचन अपरिहार्य रहेको बताए।

एनसेल डाटा सेन्टरको अवलोकनका क्रममा मन्त्री खरेललाई उक्त सेन्टरका तर्फबाट प्राविधिक मदन घिमिरेले विविध विषयमा जानकारी गराए।

मन्त्री खरेलले आजै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव डण्डुराज शर्मासहित सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी लिएका थिए।

उनले आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका साथै विभिन्न विकायका प्रमुख तथा प्रतिनिधिसँग पनि भेटघाट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *