मालिकले आफ्नो कम्पनी बेचेर ३४ अर्ब रूपैयाँ कर्मचारीलाई बाँडिदिए, एक कर्मचारीले पाए ६ करोड

डिसी नेपाल
१४ पुष २०८२ १२:४०
1.2k
Shares

काठमाडौं । अमेरिकाको लुइसियाना राज्यमा रहेको पारिवारिक व्यवसाय फाइबरबन्डका सीईओ ग्राहम वाकरले आफ्नो कम्पनी बेचिसकेपछि यस्तो गजबको निर्णय गरे जसको चर्चा अहिले विश्वभर भइरहेको छ।

उनले कम्पनी बिक्रीबाट प्राप्त रकममध्ये १५ प्रतिशत हिस्सा अर्थात् करिब २४० मिलियन अमेरिकी डलर (झण्डै ३४ अर्ब ५० करोड रुपैयाँ) प्रत्यक्ष रूपमा आफ्ना ५४० पूर्णकालीन कर्मचारीहरूमा बाँडे। यी कर्मचारीहरूसँग कम्पनीको कुनै शेयर थिएन तर पनि उनीहरूले यो बिक्री सम्झौताको ठूलो हिस्सा पाए।

फाइबरबन्डलाई अमेरिकी ठूलो कम्पनी इटनलाई बेचिएको थियो। यस सम्झौताको क्रममा ग्राहम वाकरले स्पष्ट सर्त राखे – कर्मचारीहरूलाई बिक्री रकमको हिस्सा दिइनेछ। यो जानकारी वाल स्ट्रीट जर्नलको रिपोर्टमा सार्वजनिक भएको हो। वाकरका अनुसार यो निर्णय कर्मचारीहरूले कम्पनीको कठिन समयमा देखाएको निष्ठाको सम्मानमा गरिएको हो।

बोनसको रकम सबैका लागि अचम्मको थियो। औसतमा प्रत्येक कर्मचारीले करिब ४ लाख ४३ हजार डलर (झण्डै ६ करोड रुपैयाँ) बोनस प्राप्त गरे। यो रकम एकैपटक नभइ पाँच वर्षमा किस्ताबन्दी गरेर दिइनेछ । यो बोनस रकम पाउनका लागि मुख्य शर्त हो – पूरै बोनस भुक्तानी हुँदासम्म अर्थात आगामी ५ वर्ष कर्मचारी कम्पनीमै रहनुपर्छ। बोनसको भुक्तानी जुन २०२५ देखि सुरु भइसकेको छ।

यस निर्णयले धेरै कर्मचारीहरूको जीवन बदलिएको छ। एक महिला कर्मचारी १९९५ देखि कम्पनीमा काम गर्दै आएकी थिइन् र ५.३५ डलर प्रति घण्टा तलब पाउँथिन् । उनले यो बोनसबाट आफ्नो ढणको सबै किस्ता तिरेर कपडाको बुटिक सुरु गरिन्।

उनका अनुसार पहिले तलबबाट गुजारा मात्र हुन्थ्यो तर अब अवस्था पूर्ण रूपमा बदलिएको छ। अन्य कर्मचारीहरूले यो रकमबाट ऋण तिरे, कार किने, छोराछोरीको कलेज शुल्क तिरे, रिटायरमेन्ट फन्ड मजबुत बनाए वा परिवारसँग यात्रा गर्ने योजना बनाए।

धेरै कर्मचारीहरूलाई सुरुमा यो कुरा विश्वासै भएन। कसैलाई लाग्यो कि यो मजाक, जबकि धेरैजना भावुक भए। ग्राहम वाकरले आफैं स्वीकारे – केही कर्मचारीहरूले बोनस पाउनेबित्तिकै खर्च गरिदिए। उनका शब्दमा, अन्ततः यो उनीहरूको पैसा हो र निर्णय पनि उनीहरूको नै हो।

फाइबरबन्ड संघर्ष र पुनरागमनको उदाहरण बनेको कम्पनी हो । कम्पनीको स्थापना १९८२ मा ग्राहमका पिता क्लड वाकरले गरेका थिए। १९९८ मा कारखानामा आगलागी भए पनि कर्मचारीहरूको तलब रोकिएन।

डट-कम बबलको समयमा कर्मचारी कटौती भयो तर पछि ग्राहम र उनका भाइले कम्पनीलाई सम्हाल्दै ऋण तिरे र नयाँ डिभिजन सुरु गरे जसले बिक्रीमा ४०० प्रतिशतसम्म वृद्धि भयो । सामाजिक सञ्जालमा यस कदमलाई क्रिसमसको सबैभन्दा सकारात्मक समाचारमध्ये एक भनेर उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.