चुनावको मुखमा नेताहरूको अर्थपूर्ण दिल्ली भ्रमण

डिसी नेपाल
२२ पुष २०८२ ७:३६
556
Shares

काठमाडाैं।  मुलुक निर्वाचनमा होमिएको छ। निर्वाचन आउन अब ५८ दिनमात्रै बाँकी छ। कुनै ठूलो राजनीतिक घटनाक्रम भएन भने मुलुकमा फागुन २१ मा चुनाव हुने निश्चित छ। मुलुलमा चुनावी माहोल बनिरहेका बेला प्रमुख दलका शीर्ष नेता भने यतिबेला दिल्ली धाउन थालेका छन्।

अघिल्लो हप्ता पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई चारदिने भ्रमण सकेर फर्किए। भ्रमणमा डा. भट्टराईले मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थानले आयोजना गरेको महोत्सवमा भाग लिएका थिए।

भट्टराई फर्किएपछि पूर्वप्रधानन्त्रीसमेतरहेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड आइतबार दिल्ली पुगे। प्रचण्ड दिल्ली जानु अघि उनले एमाले अध्यक्ष केपी ओलीसँगसमेत भेट गरेका थिए।

प्रचण्ड दिल्लीमा दिल्लीमा ‘एकता सन्देशसभा’ लाई सम्वोधन गर्ने कार्यक्रम प्रचण्डको औपचारिक कार्यक्रम भएपनि उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन्।

‘मेरो भ्रमणको उद्देश्य अनौपचारिक रूपमा विकसित राजनीतिक घट्नाक्रम समीक्षा गर्ने र सूचना संकलन गर्ने नै थियो, त्यो उद्देश्य पूरा भएको छ। केही विकसित राजनीतिक घट्नाक्रम’ अनौपचारिक ढंगले भारतीय राजनीतिक मित्रसँग समीक्षा भएको छ। हिजोदेखि आजसम्म समीक्षा भएको छ,’ प्रचण्डले भनेका थिए।

आइतबार दिल्ली पुगेका प्रचण्ड उक्त कार्यक्रममा जाने देखावटी कार्यक्रम तय गरे पनि दाहालले दिल्ली रहँदा आइतबार र सोमबार दुई महत्वपूर्ण भेटघाट गरेका छन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच करिब १ घन्टा एक्लाएक्लै कुराकानी भएको स्रोतले जानकारी दिएको छ । दुई दिने भ्रमण सकेर दाहाल सोमबार नै नेपाल फर्किएका छन ।

प्रचण्ड काठमाडौं फर्किएकै दिन नेपाली कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा।आरजु राणा देउवा सोमबार नयाँदिल्ली पुगेकी छन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी आरजु नयाँ दिल्लीमा विशेष भेटघाट गर्ने कार्यक्रम छ।

नयाँ दिल्ली पुगिरहेका नेताले विजेपी नेतालगायतलाई विशेष भेटघाट गर्दै फर्किरहेका छन्। भेटघाटमा नयाँ दिल्लीले नेपाली नेताहरूलाई निर्वाचनमा सहभागी हुन सल्लाह सुझाव दिइरहेको स्रोतको दावी छ।

‘निर्वाचनमा तपाईंहरू मिलेर सहभागी हुनुस्। निर्वाचित भएर सरकार बनाउनुस्, हाम्रो साथ सहयोग सधैं रहनेछ। बंगलादेशजस्तो नेपालमा नहोस् भन्ने हाम्रो चाहना हो,’ नेपालका नेतालाई भारतीय पक्षले दिएको सुझावको निष्कर्ष सुनाउँदै स्रोतले भन्यो। नयाँ दिल्ली पुगेका नेकपा संयोजक प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट भएको स्रोतको दाबी छ।

रास्वपा उपसभापति वाग्ले भारतीय संस्थापन नजिकका दुई ‘थिंक ट्यांक’ विवेकानन्द इन्टरनेसनल फाउन्डेसन र नेटस्ट्र्याट (सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एन्ड सेक्युरिटी इस्युज)  ले संयुक्त रूपमा गर्न लागेको सेमिनारमा सहभागी हुन दिल्ली जान लागेका हुन्।

उता प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदी आकस्मिक रूपमा उपचारका लागि आइतबार साँझ दिल्ली पुगेका छन् । स्वास्थ्यमा समस्या भएपछि उनी काठमाडौंमा उपचार गराउँदै आएका थिए ।

‘पिसाबमा संक्रमण देखिएको’ भन्दै सुवेदी आइतबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलबीच ध्रुवीकरण बढ्दै गइरहेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा समेत पुराना दलबीच गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बेला नेताहरूको नयाँदिल्ली दौडधुप अर्थपूर्ण रूपमा हेरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.