कांग्रेसभित्रको विवाद विभाजनतर्फ

डिसी नेपाल
२४ पुष २०८२ ७:१४
828
Shares

काठमाडौं। नेपाली कांग्रेसमा पार्टी महाधिवेशन विषयको विवाद चरम उत्कर्षमा पुगेको छ। पार्टीको १५औं महाधिवेशनको विषयलाई लिएर जारी विवादबीच विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनको आह्वान गरेका छन्।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन घोषणा गरेका हुन्। योसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा विशेष महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएको छ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचारप्रसार समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो।

पत्रकार सम्मेलनपछि विशेष महाधिवेशन पक्षधरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले २०८२ पुस २८ भित्र १५औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न हुन सकेन ।यस्तो अवस्थामा हाम्रो माग बमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ ।’

बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको दाबी गर्दै विशेष महाधिवेशन पक्षधरले भनेको छ, ‘विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।’

पार्टी रूपान्तरणको यो अभियानमा देश(विदेशमा रहेका पार्टी सदस्य, शुभेच्छुक, सञ्चारजगत् तथा आमनागरिकसँग सहयोग र साथको अपेक्षा पनि विशेष महाधिवेशन पक्षधरले गरेको छ।

भदौ २३ को जेन(जी आन्दोलन र २४ गतेको विध्वंसपछि कांग्रेसभित्र विशेष महाधिवेशनको माग उठेको थियो। महामन्त्री द्वय गगन र विश्वकै सल्लाह बमोजिम जिल्ला–जिल्लामा हस्ताक्षर संकलन भयो। सोही क्रममा दुई हजार ४८८ जना अर्थात् ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भएको दाबी गरिएको छ। उक्त हस्ताक्षर असोज २८ गते कांग्रेसको केन्द्रीय कार्यालयमा बुझाइएको थियो।

सोही बेला कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि सुरु भएको थियो। जहाँ नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा लामै विवाद चलिरह्यो। संस्थापन र इतर पक्षका नेता डा। शेखर कोइराला समेतले विशेष महाधिवेशनले पार्टी विभाजन हुने भन्दै नियमितमै जोड दिए।

नियमित महाधिवेशन पनि फागुन २१ को निर्वाचन अघि कि पछि भन्ने विवादले लामै समय खाएको थियो। संस्थापन पक्षमै पनि २५ जना भन्दा बढी केन्द्रीय सदस्य निर्वाचन अघि नै महाधिवेशन हुनुपर्नेमा मत राखिरहेका थिए।

यसबीचमा पुस १८ गतेको कार्य सम्पादन समितिको बैठकले वैशाख अन्तिम साता हुने गरी १५ औँ महाधिवेशनको संशोधित कार्य तालिका ल्याएको थियो। त्यसमा महामन्त्रीद्वय गगन-विश्व, सहमहामन्त्री फरमुल्लाह मन्सुर, नेता अर्जुनरसिंह केसी र उमा रेग्मीको मात्रै फरक मत रह्यो।

पाँचै जनाले पुस मसान्तभित्रै विशेष महाधिवेशन हुनै पर्ने अडान राखेका थिए। तर, कार्यसम्पादन समितिले नियमित महाधिवेशनमा प्रवेश गरिसकेको अवस्था देखाउँदै विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय गरेको छ। यस्तो बेलामा महामन्त्रीद्वयले विशेष महाधिवेशनपछि कांग्रेसको अवस्था के हुने भन्ने यतिबेला चिन्ताको विषय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.