राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

डिसी नेपाल
२७ पुष २०८२ ८:५७
12
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने बताएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले मुलुकलाई एक सूत्रमा बाँध्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै आजको दिनलाई सोही सम्मानको रुपमा मनाउनु पर्ने बताए ।

उनले भने, ‘पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीको रुपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिन्छ । मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई यस दिवसले सम्मान गर्ने अवसर प्रदान गर्दछ ।’

यस्तै, उनले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक सद्भाव सहिष्णुता र समरसता अभिवृद्धि गर्ने उत्प्रेरकका रूपमा यस दिवसलाई उपयोग गर्न सक्नुपर्ने बताए ।

आजको दिनले व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदै युवापुस्तालाई मातृभूमिप्रति समर्पण र सेवा भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व रहेको पनि उनको भनाई छ ।

साथै, उनले सबैले विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूल मन्त्र बनाउन संकल्प गर्नुपर्ने उल्लेख गर्दै यही संकल्पले मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिकः उन्नतितर्फ अघि बढाउने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.