बाबुराम भट्टराईलाई ‘भावी राष्ट्रपति’ प्रस्ताव !

डिसी नेपाल
१० माघ २०८२ ८:०५
4.2k
Shares

काठमाडौं। ‘भा वी राष्ट्रपति’ का रूपमा प्रस्ताव गरिएपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्। डा.भट्टराईले शुक्रबार ‘भिडियो सन्देश’ जारी गर्दै ‘गोरखा–२ बाट उम्मेदवारी फिर्ता’ लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले सार्वजनिक सन्देशमार्फत ‘भट्टराईलाई उम्मेदवारी फिर्ता लिइदिएर वैकल्पिक राजनीतिको अभिभावकत्व ग्रहण गरिदिन’ आग्रह गरेपछि भट्टराईले फिर्ता लिएका हुन्।

गोरखाबाट निर्वाचन जितेर प्रधानमन्त्री तथा अर्थमन्त्रीको भूमिका निर्वाह गरिसकेका भट्टराईले रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई समर्थन गर्नेगरी फिर्ता लिएको रास्वपाले जनाएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उम्मेदवारी दिएका थिए।

‘वैकल्पिक राजनीति’का लागि भनेर तत्कालीन नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका जनार्दन शर्मा, सुदन किराती तथा रास्वपाबाट विद्रोह गरेका सन्तोष परियारलगायतको नेतृत्वमा रहेको पार्टी प्रलोपाको संरक्षक परिषद्का शीर्ष नेतृत्वमा रहेका संरक्षकले नै उम्मेदवारी फिर्ता लिए पनि सो पार्टीबाट उम्मेदवार बनेका शर्मालगायतका हकमा भने कुनै सहमति नभएको बताइएको छ ।

रास्वपाले भट्टराईलाई ‘राष्ट्रपतिको आश्वासन’ दिएपछि कुरा मिलेर उनले एकल निर्णयमा छोडेको बुझिएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा पनि नेपाल समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिने तयारी गरेकोमा अन्तिम समय आएर तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एवं राजनीतिक सहयोद्धा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्दै क्षेत्र खाली गरिदिएका थिए ।

यसपटक पनि प्रचण्डले भट्टराईलाई फोन गरेर ‘आफ्ना उम्मेदवार लेखनाथ न्यौपानेलाई समर्थन गरेर फिर्ता लिइदिन र आफूहरूको राजनीतिक अभिभावक बन्न’ आग्रह गरेका थिए । सम्भवतः प्रचण्डको आग्रह पनि आफूसहित सहभागी हुने चुनावपछाडिको राजनीतिक अवस्थामा भट्टराईलाई राष्ट्रपतिकै भूमिकामा प्रस्ताव गरिएको छ । प्रचण्डले आफूजस्तो बाटोमा हिँडे पनि ‘निर्णायक हुने’ बताउँदै आफूसहितको राजनीतिलाई अभिभावकत्व दिन आग्रह गरेको प्रचण्डनिकट स्रोतले राजधानीलाई बतायो ।

पूर्वप्रधानमन्त्री भट्टराईले पनि नयाँ पुराना सबै राजनीतिक दल तथा उम्मेदवारले अभिभावक बनिदिन आग्रह गरेको भिडियोमै स्वीकारेका छन् । संरक्षकका नाममा राष्ट्रपतिको प्रस्ताव आएको विषयलाई घुमाउरो हिसाबले भट्टराईले स्वीकारेका छन् ।

भिडियो सम्बोधनमा भट्टराईले भनेका छन्, ‘विभिन्न किसिमले भोलि देशको अभिभावकीय जिम्मेवारी लिनुपर्ने सम्भावनाको प्रस्तावसहित वैकल्पिक राजनीतिक अभियान चलाउँदै आएका नयाँ र पुराना साथीहरूबाट आएको प्रस्तावअनुसार उम्मेदवारी फिर्ता गरेको हुँ ।’ गोरखा क्षेत्र–२ मा नेकपा एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.