ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका छन्। बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।
देश जलाउने र बनाउने बीच बहस हुनुपर्छ भन्ने ओलीको प्रस्तावमा बालेनले हत्यारा र त्यसको मतियारसँग एउटै मञ्चमा बसे आफू पनि त्यसमा सामेल भएको मानिने भन्दै एउटै मञ्चमा नबस्ने बताउँदै जवाफ फर्काएका हुन्।
आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ।
‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? त्योपछि अरू कुरा गरौँला! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ बालेनले लेखेका छन्।
ओलीको पब्लिक डिबेट प्रस्ताव र त्यसमा बालेन शाहको कडा प्रतिक्रियालाई लिएर राजनीतिक वृत्तमा बहस चर्किएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment