बालेनको ‘क्रेज’ले रवि छायामा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पश्चिम नेपाल पुगेका छन्। एकसाता पूर्वी नेपालका केही जिल्ला घुमेर सोमबारदेखि उनी पश्चिम लागेका हुन्।
पूर्वबाट काठमाडौं आएका उनी संघीय राजधानीबाट चुनावी अभियानका क्रममा नेपालगञ्ज प्रस्थान गरेका हुन्। बालेन नेपालगञ्ज पुग्दा उनलाई स्वागत गर्न विमानस्थलमा मानिसहरूको भिड लागेको थियो। बालेन विमानस्थलबाट बाहिर निस्किएपछि ‘सन रुफ’ भएको गाडीमा चढेका थिए। उनलाई हेर्न मानिसहरूको उल्लेख्य भिड लागेको थियो।
बाँकेदेखि उनी पश्चिमका जिल्लामा पुग्ने कार्यक्रम छ। बालेन बर्दिया हुँदै कैलाली र अछामसम्म जाने योजना रहेको रास्वपाले जनाएको छ। सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन्।
उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका छन्। सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुने रास्वपाले जनाएको छ। बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि बढाएको छ। एमालेले पनि ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ।
यसअघि, काठमाडौंबाट जनकपुर झर्दा पनि मानिसहरूको त्यस्तै भिड थियो । उनी जता पुगे, त्यतै समर्थकहरूको भिड लाग्ने गरेको छ। काठमाडौं महानगरपालिका प्रमुखबाट राजीनामा दिएर उनले जनकपुरमा पहिलोपटक सभालाई सम्बोधन गरेका थिए।
५ माघमा जनकपुर गएर स्थानीय मैथिली भाषामा उहाँले पहिलो सार्वजनिक सम्बोधन गरेका थिए। त्यसअघि तीन वर्ष काठमाडौंको मेयर रहँदा उनले ठूलो सार्वजनिक सभालाई सम्बोधन गरेका थिएनन्।
जनकपुरपछि झापा-५ मा गएर उम्मेदवारी मनोनयन दर्ता गरेका उनले पूर्वीपहाडी जिल्लाका कार्यकर्ता, उम्मेदवार, मतदातासँग प्रत्यक्ष भेट मात्र होइन, पाथीभरा मन्दिरको दर्शन पनि गरेका थिए। पूर्वमा रहँदा मोरङ-३ का रास्वपा उम्मेदवार गणेश कार्कीसँग पनि छलफल गरेका थिए। त्यसपछि उनी इलाम पुगेका थिए। इलामबाट पहाड उक्लिनुभएका पाँचथर, ताप्लेजुङसहित संखुवासभा र धनकुटासमेत पुगेका थिए।
झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका साहले काठमाडौं फर्केर आइतबार बागमती प्रदेशभरका रास्वपा उम्मेदवारसँग सामूहिक छलफल गरेका थिए।
पार्टी कार्यालयभन्दा ज्वागलमै छलफल
१३ पुसमा सभापति रवि लामिछानेसँग सहमति गरेर पार्टी प्रवेश गरेका उनी त्यसको २२ दिनपछि मात्रै पार्टी कार्यालय पुगेका थिए। त्यसअघि उनले ललितपुरको ज्वागलस्थित सम्पर्क कार्यालयबाटै व्यक्तिगत भेटघाट गर्ने गरेका थिए। उनी ४ माघमा सभापति लामिछानेसँग कार्यालय पुगेका थिए। उनलाई विशेष स्वागत गरिएको थियो। वरिष्ठ नेता साहका लागि कार्यालयमा अलग्गै कक्ष तयार पारिएको छ।
तर, त्यसयता बालेन कार्यालय पुगेका छैनन्। पूर्वमा चुनावी अभियानपछि काठमाडौं फर्किएका उनले आइतबार उपत्यकाका सबै निर्वाचन क्षेत्र र आसपासका जिल्लाका उम्मेदवारसँग पार्टी कार्यालयमा नभई ज्वागलमै छलफल गरेका थिए। बालेनले रञ्जु दर्शना, राजीव खत्री, बदन भण्डारी, राजु पाण्डे, भूपदेव शाह, सस्मित पोखरेल, डा. तोसिमा कार्की, पुकार बम, भरतप्रसाद पराजुली, गणेश पराजुली, डा. विक्रम तिमिल्सिना, झलककुमार श्रेष्ठ लगायतसँग काठमाडौंमा भेटवार्ता गरेका थिए।
मुद्दा-मामिलामै अल्झिए लामिछाने
रास्वपा वरिष्ठ नेता बालेन जता गयो उतै भिडभाड देखिइरहँदा सभापति रवि लामिछाने भने केही दिनयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उम्मेदवार मनोनयन गर्ने दिन गत माघ ६ गते सार्वजनिक रूपमा देखिएका उनी त्यसयता ठूला सार्वजनिक कार्यक्रममा नदेखिएका हुन्।
लामिछानेनिकट स्रोतका अनुसार सभापति लामिछाने अहिले आन्तरिक रणनीति बनाउने र आफूविरुद्धका मुद्दा-मामिलामै अल्झिएका छन्। व्यक्तिगत काममै अल्झिँदा अहिले चुनावी अभियानमा नदेखिएको स्रोतको भनाइ छ। तर, केही दिनपछि सभापति लामिछाने पनि चुनावी अभियानमा खटिने स्रोतले बतायो।
रास्वपा सभापति लामिछाने उम्मेदवार मनोनयकै दिन बैंक ग्यारेण्टी बुझाएर रिहा भएका थिए। सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको थियो।
पर्सा हाजिर हुनुभएका लामिछाने मंगलबार नै अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो। न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार धरौटी माग गरेको थियो।







डिसी नेपाल








Facebook Comment