रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुन्। देव्रे खुट्टामा लागेको चोट बढेर संक्रमण भएकाले उनी अस्पतालमा भर्ना भएर उपचाररत रहेको उनका स्वकीय सचिव अविनाश आचार्यद्वारा सूचनामा उल्लेख छ।
देब्रे खुट्टामा लागेको चोटमा संक्रमण फैलिँदै छालाको भित्री तहसम्म पुगेकाले चिकित्सकको सल्लाहअनुसार अस्पतालमै निगरानीमा राखेर उपचार भइरहेको छ।
स्वकीय सचिव आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा लागिएको सामान्य चोट समयसँगै बढेर ‘सेल्युलाइटिस’ संक्रमणको रूपमा देखिएको बताउनुभएको छ। चिकित्सकहरूले यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने जनाएपछि केही दिन अस्पतालमै राखेर उपचार गर्नु अनिवार्य भएको उनले उल्लेख गरेका छन्।
आचार्यका अनुसार चोट आफैं गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्यमा सुधार आएपछि मात्रै सभापति लामिछाने पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किनेछन्।
यस्ता छ स्वकीय सचिवले जारी गरेको सूचनाः
माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्युको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण (Cellulitis) भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ।
चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ।
सभापतिज्यू सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौं।
धन्यवाद।
अविनाश आचार्य
स्वकीय सचिव







डिसी नेपाल








Facebook Comment