६ महिनामा ६ लाख नेपाली विदेशिए
काठमाडौं। मुलुक आम निर्वाचनको मुखमा प्रवेश गर्दै राजनीतिक दलहरू चुनावी तयारी र प्रचार-प्रसारमा जुटिरहेका बेला युवाहरू भने रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेका छन्।
निर्वाचनले देशभित्र रोजगारी, स्थायित्व र भविष्यप्रति आशा जगाउने अपेक्षा गरिए पनि व्यवहारमा भने त्यसको उल्टो देखिएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो ६ महिनामै करिब ६ लाख नेपाली श्रम स्वीकृति लिएर विदेशिएका छन्, जसले निर्वाचनको मुखमा पनि युवाको विदेशिने क्रम रोकिएको छैन भन्ने स्पष्ट संकेत गर्छ।
विभागका अनुसार पछिल्लो ६ महिनामा करिब ६ लाख नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन्। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म पाँच लाख ९० हजार ७१८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका हुन्।
विभागका अनुसार यस अवधिमा विदेश गएकामध्ये एक लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। त्यस्तै, चार हजार ८६६ जना जि-टुजी प्रक्रियामार्फत इजरायल, दक्षिण कोरिया तथा बेलायत पुगेका छन्। व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिनेको संख्या ६४ हजार २६२ रहेको छ भने तीन लाख २५ हजार ४०७ जना म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका छन्।
हरेक वर्ष चाडपर्व सकिएपछि तथा नयाँ वर्ष सुरु हुँदै निर्माण र सेवा क्षेत्रमा श्रमिकको माग बढ्दा विदेश जाने क्रम तीव्र हुने गरेको देखिन्छ। यसैकारण आगामी महिनामा यो संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
गन्तव्य मुलुकको हिसाबले खाडी मुलुकहरू र मलेसिया परम्परागत रूपमा प्रमुख गन्तव्य नै रहेका छन्। साथै, पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा केही युरोपेली मुलुकहरू पनि नेपाली श्रमिकका आकर्षक गन्तव्य बन्दै गएका छन्। खाडी र मलेसियामा अदक्ष तथा अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियातर्फ भाषा र सीपयुक्त श्रमिकको आकर्षण बढ्दो छ।
ठगीका उजुरी पाँच हजार नाघे
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै ठगीका घटनाहरू पनि उल्लेख्य रूपमा बढिरहेका छन्। विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसम्बन्धी पाँच हजार ७६६ वटा ठगीका उजुरी दर्ता भएका छन्।
उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा दुई हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा दुई हजार ५६१ वटा परेका छन्। उद्धार तथा राहत शाखामा म्यानपावर कम्पनीसम्बन्धी उजुरी दर्ता हुने गरेका छन् भने प्रहरी र मुद्दा अनुसन्धान शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुने गरेका छन्। यस अवधिमा परेका उजुरीमध्ये ९० दशमलव १५ प्रतिशत व्यक्तिगत र नौ दशमलव ८५ प्रतिशत म्यानपावर कम्पनीसम्बन्धी रहेको विभागले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा करिब पाँच हजार ठगीका उजुरी परेका थिए। तीमध्ये पनि करिब ९० प्रतिशत व्यक्तिगत ठगीसँग सम्बन्धित थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षको ६ महिनामै बढी उजुरी पर्नु चिन्ताको विषय बनेको छ।
विभागका अधिकारीहरूका अनुसार रोजगारीका लागि विदेश जानेको संख्या बढ्नु, युरोप जाने प्रलोभनमा युवाहरू पर्नु तथा सामाजिक सञ्जालमार्फत आउने अनधिकृत र भ्रामक विज्ञापनका कारण नेपालीहरू ठगिने क्रम बढिरहेको छ। उनीहरूले वैदेशिक रोजगारीमा जाने क्रममा सरकारी निकायबाट स्वीकृत प्रक्रिया अपनाउन र अनधिकृत विज्ञापन तथा व्यक्तिबाट सचेत रहन आग्रह गरेका छन्।







डिसी नेपाल








Facebook Comment