आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन् : उपसभापति अर्याल

डिसी नेपाल
१६ माघ २०८२ १०:३६
36
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात-अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए।
उनले भने, ‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन। त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो।’

उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा पूर्णरूपमा पूरा हुन नसकेको बताए।

‘लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र ति मार्फत सिर्जित बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन्,’ उनले भने।

उनले फागुन २१ गते हुन गइरहेको निर्वाचनको महत्वसमेत औँल्याउँदै भने, ‘यो निर्वाचन केवल जनप्रतिनिधि चुन्ने प्रक्रिया मात्र होइन, बरु मुलुकमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान बिन्दु हो। हामी आशावादी छौं कि रास्वपाको नेतृत्वमा मुलुकले राजनीतिक स्थायित्व, जनमुखी शासन र सामाजिक न्यायसहित समृद्धि प्राप्त गर्नेछ।’

डीपी अर्यालले सहिदको बलिदानको वास्तविक सम्मान राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधनमार्फतै हुन सक्ने उल्लेख गर्दै, विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकको संयोजनमा मात्रै सहिदका सपना पूरा गर्न सकिनेमा जोड दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *