ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
ललितपुर। ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुमा नेपाली कम्युनिस्ट पार्टीमा सक्रिय राजनीति गरेका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
प्रवेश गर्नेहरूमा कम्युनिस्ट पार्टीका पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ रहेका छन्।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शम्शेर राणाले पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेशपछि बोल्दै नेताहरूले वामपन्थी दलहरूमा बढ्दो साङ्गठनिक विचलन र जनताप्रतिको उत्तरदायित्व कम हुँदै गएकाले आफूहरूले विकल्प रोजेको बताएका छन्।
उनीहरूले नेपाली कांग्रेसको लोकतान्त्रिक कार्यशैली, विकासमुखी दृष्टिकोण र जनतासँग प्रत्यक्ष जोडिने संस्कृतिका कारण आफूहरू आकर्षित भएको उल्लेख गरे। कार्यक्रममा बोल्दै नेता राणाले नल्लु सहित कोन्ज्योसोम क्षेत्रको विकास र समृद्धिका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहेको बताए।
उनले पुराना र अनुभवी नेताहरूको आगमनले पार्टीलाई थप उर्जा मिलेको र यसले आगामी निर्वाचनको गणितमा समेत दूरगामी प्रभाव पार्ने दाबी गरे। स्थानीयका अनुसार एमाले र माओवादीका पूर्व वडा अध्यक्षस्तरका नेताहरूले सामूहिक रूपमा पार्टी छाड्नुले कोन्ज्योसोममा वामपन्थी आधार खस्किँदै गएको संकेत गर्दछ। यसले आगामी दिनमा कांग्रेसको साङ्गठनिक शक्तिलाई थप मजबुत बनाउने र शक्ति सन्तुलनमा ठुलो फेरबदल ल्याउने निश्चित देखिन्छ।
कोन्ज्योसोम क्षेत्रमा राजनीतिक ध्रुवीकरण पुनः परिभाषित भइरहेका बेला कांग्रेसले पाएको यो पछिल्लो थप बल रणनीतिक रूपमै लाभदायी मानिएको छ।







डिसी नेपाल








Facebook Comment