कैलाली–५ कांग्रेस उम्मेद्वार नरनारायण शाह मनुद्वारा ८ बुँदे प्रतिबद्धता सार्वजनिक
धनगढी । नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नरनारायण शाह ‘मनु’ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। धनगढीमा आयोजित एक औपचारिक कार्यक्रममा क्षेत्रीय सभापति भीम पडालले उम्मेद्वार शाहको प्रतिबद्धतापत्र वाचन गरी सार्वजनिक गरेका हुन्।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिबद्धतापत्रमार्फत उम्मेद्वार शाहले नीति तथा कानून, युवा रोजगारी, शिक्षा–स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, सुशासन, पर्यटन र समावेशी विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने स्पष्ट पारेका छन्।
प्रतिबद्धतापत्रमा सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउने उद्देश्यसहित प्रतिनिधि सभा र संसदका विभिन्न समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरिएको छ। शाहले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पश्चिमसेती र पञ्चेश्वर जलविद्युत् आयोजना, महाकाली करिडोर, सेती लोकमार्ग, २२० केभी प्रसारण लाइन विस्तार लगायतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न संघीय सरकारसँग पहल गर्ने, भूमिहीन, सुकुम्बासी, दलित, मुक्त कमैया तथा मुक्त हलियाको दीर्घकालीन समस्या समाधान गर्दै लालपूर्जा वितरण प्रक्रिया तीव्र बनाउने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।
युवा पुस्तालाई केन्द्रमा राख्दै आधुनिक सूचना प्रविधि पार्क स्थापना गर्ने, युवा संवाद र नवप्रवर्तन प्लेटफर्मु मार्फत जेन(जीको आवाज नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। धनगढीमा प्रस्तावित नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गर्न जग्गा र पूर्वाधारको व्यवस्था गर्ने पहल गर्ने उम्मेद्वार शाहले जनाएका छन्।
स्वदेशमै रोजगारी सिर्जना गर्न सीपमूलक तालिम, व्यवसाय इन्कुवेसन सेन्टर, स्टार्टअप इकोसिस्टम विकास र निजी क्षेत्रसँग सहकार्यमा युवामैत्री रोजगारी नीति निर्माणमा संसदमा सक्रिय भूमिका खेल्ने उनको भनाइ छ। साथै लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि अभिभावक, विद्यालय र स्थानीय प्रशासनको सहकार्यमा अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ।
गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गरी मेडिकल अध्ययन सुरु गर्न आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। सेती प्रादेशिक अस्पतालको संगठनात्मक संरचना सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने, नगर स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने तथा २५ शैयाको अस्पताल स्थापना गर्ने विषय पनि प्रतिबद्धतामा समावेश छ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल कक्षा, विज्ञान प्रयोगशाला तथा प्रविधिमैत्री शिक्षा प्रवर्द्धनका लागि बजेट सुनिश्चित गर्ने अठोट व्यक्त गरिएको छ। धनगढी रंगशालालाई आधुनिक रंगशालाको रूपमा विकास गर्ने र विभिन्न वडाका खेलमैदान स्तरोन्नतिका लागि पहल गरिने उल्लेख छ।
कृषि क्षेत्रमा सिँचाइका लागि डिप बोरिङ र ट्युबेलको मर्मत, कृषि पकेट क्षेत्र विकास, उत्पादनको बजारीकरण र अनुदान प्रणालीलाई पारदर्शी बनाउने प्रतिबद्धता गरिएको छ। खाद्य आत्मनिर्भरता, रासायनिक मलको समयमै आपूर्ति, गुणस्तरीय बीउ र प्राविधिक सेवाको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ।
कैलालीमा औद्योगिक क्षेत्र स्थापना, आन्तरिक तथा वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण र सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मार्फत रोजगारी सिर्जना गर्ने नीति पनि प्रतिबद्धतामा उल्लेख छ।
धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा वर्षायाममा हुने डुबान र नदी कटानको दीर्घकालीन समाधानका लागि बृहत्तर तटबन्धन योजना सञ्चालन गरिने जनाइएको छ। धनगढी विमानस्थल विस्तार, अत्याधुनिक बसपार्क निर्माण, आकाशे पुल, भित्री सडक स्तरोन्नति, पक्की पुल निर्माण तथा खानेपानी आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता गरिएको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, दलित, आदिवासी जनजाति, थारु, रानाथारु, मुस्लिम, महिला, लैंगिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको समावेशी विकासलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाइएको छ। श्रमिक हकहित, सामाजिक सुरक्षा कोष, महिला सशक्तीकरण र स्वरोजगार कार्यक्रमलाई जोड दिइएको छ।
पर्यटन र संस्कृतिको विकासका लागि कनरी पार्क, नेतुवा ताल, बेहडाबाबा, शिवपुरीधाम, जाखीर ताल लगायत क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, थारु र रानाथारु होमस्टे प्रवर्द्धन गर्ने तथा जातीय संग्रहालय निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेद्वार मनु शाहले जनताको अपेक्षा, सुझाव र सल्लाहलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन्। ‘कैलाली क्षेत्र नम्बर ५ को समग्र विकासका लागि इमानदार, जवाफदेही र परिणाममुखी भूमिका निर्वाह गर्नेछु,’ उनले भने।







डिसी नेपाल








Facebook Comment