सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
काठमाडौं। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन्। अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन्।
यस्तो संवेदनशिल समयमा क्षणिक आवेगमा आएर तपाईं अरुलाई गाली गरेका तथा मित्थ्या सूचना सेअर गर्न तथा पोष्ट गर्न सक्रिय त हुनुभएको छैन वा जानी नजानी कसैको व्यक्तिगत चरित्रहत्या गरिरहनुभएको पो छ कि ? सावधान ! यस्ता सूचना सामाजिक सञ्जालमा राख्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ।
नेपाल प्रहरीले अहिले सामाजिक सञ्जालको उच्च निगरानी गरिरहेको र यस्ता सूचनाहरू सार्वजनिक गरिएमा कारबाही हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार यसरी सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धमा टोली नै बनाएर अनुगमन गरिएको छ। यसका साथै प्रहरीको साइबर ब्यूरोले समेत सुक्ष्म अनुगमन गरिरहेको उनले बताए।
उनले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूको प्रयोगद्वारा गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सदभाव बिगार्ने, अरुको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेअर गर्नु अपराध भएको पनि बताए।
प्रहरीले कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो, गलत वा भ्रमपूर्ण रूपमा काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यका साथ प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई प्रोत्साहन गर्न लाइक, सेअर वा कमेन्ट नगर्न पनि सबैलाई अनुरोध गरेको छ।
कानुनविपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु पनि अपराध भएको जानकारी गराउँदै उनले अनलाइनमा देखिएका कुनै पनि पोस्टहरू सेअर गर्नुअघि त्यो सही र सत्य भए नभएको बुझ्ने प्रयास गर्न सबैमा अनुरोध गरेका छन्।
प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, “सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ। जिम्मेवार नागरिक बनौँ, समाजमा शान्ति तथा सदभाव कायम राख्न सबैले सहयोग गरौँ।” रासस








डिसी नेपाल






Facebook Comment