एअर इण्डिया विमान दुर्घटना : मुद्दा फिर्ता लिन पीडितलाई १० देखि २० लाख अफर

डिसी नेपाल
२९ माघ २०८२ १०:३३
428
Shares

काठमाडौं । अहमदाबादमा दुर्घटना भएको एअर इण्डियाको विमानका पीडितहरूलाई मुद्दा फिर्ता लिन एअर इण्डियाले पैसा दिने प्रस्ता पेश गरेपछि विवाद भएको छ । लन्डनतर्फ उडान भरेको एअर इन्डियाको विमान दुर्घटनामा परेपछि पीडित परिवारलाई अतिरिक्त क्षतिपूर्ति दिने प्रस्ताव एअर इन्डियाले अघि सारेको हो । तर यस प्रस्तावलाई पीडित परिवारका कानुनी प्रतिनिधिहरूले कडा विरोध गरेका छन्।

लन्डनको पत्रिका द इन्डिपेन्डेन्टमा प्रकाशित रिपोर्टअनुसार एअर इन्डियाले मृतकका परिवारलाई अतिरिक्त १० लाख रुपैयाँ (केही अवस्थामा २० लाख रुपैयाँसम्म) दिने सर्तमा भविष्यमा कानुनी दाबी नगर्ने सहमति मागेको छ। कम्पनीले यो सहमति विश्वका कुनै पनि अदालतमा लागू हुने बताएको छ।

तर १३० जना पीडितका परिवारको कानुनी टोलीले भने यो प्रस्ताव अस्वीकार गरेको छ। उनीहरूको भनाइमा दुर्घटनाको अनुसन्धान अझै पूरा भएको छैन, जिम्मेवारी तय भएको छैन, यस्तो अवस्थामा कानुनी अधिकार त्याग्न लगाउनु अन्यायपूर्ण छ। केही घाइतेको उपचार अझै जारी छ।

एअर इन्डियाका प्रवक्ताले भने, “हामी प्रत्येक प्रभावित परिवारलाई सहयोग गर्न प्रतिबद्ध छौँ। प्रारम्भिक अन्तरिम रकम दिएपछि अन्तिम क्षतिपूर्ति रकम कानुनअनुसार उचित हुने सुनिश्चित गरेका छौँ।”

यसबीच, सर्वोच्च अदालतले ११ फेब्रुअरीमा केन्द्र सरकारलाई दुर्घटनासम्बन्धी ‘प्रोसिजरल प्रोटोकल’को प्रतिवेदन पेश गर्न आदेश दिएको छ। सरकारले एएआईबी (एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन बोर्ड)को अनुसन्धान अन्तिम चरणमा रहेको जानकारी दिएको छ।

एनजीओ सेफ्टी म्याटर्सका तर्फबाट अधिवक्ता प्रशान्त भूषणले गम्भीर दुर्घटनाको छानबिनका लागि कोर्ट अफ इन्क्वायरी आवश्यक हुने तर्क गरेका थिए। तर प्रधान न्यायाधीश सूर्यकान्तको इजलासले एएआईबीको प्रतिवेदन आएपछि मात्र थप कदमबारे विचार गर्ने बताएको छ।

भूषणले ८ हजारभन्दा बढी पाइलटले बोइङ ७८७ सुरक्षित नभएको र यसलाई ग्राउन्ड गर्नुपर्ने माग गरेको उल्लेख गरे। यसमा केन्द्र र डीजीसीएका तर्फबाट सलिसिटर जनरल तुषार मेहताले व्यंग्य गर्दै भने, “भूषणलाई सन्तुष्ट पार्ने एक मात्र उपाय भनेको उनी स्वयंको नेतृत्वमा समिति बनाउनु हो।”

१२ जुन २०२५ मा अहमदाबादबाट लन्डनतर्फ उडान भरेको फ्लाइट एआइ १७१ टेकअफपछि केही मिनेटमै मेडिकल होस्टलको भवनमा ठोक्किएको थियो। दुर्घटनामा २७० जनाको मृत्यु भएको थियो, जसमा २४१ यात्री र क्रू सदस्य थिए। केवल एक जना यात्री जीवित बच्न सफल भएका थिए।

फ्लाइटराडार२४का अनुसार विमानको अन्तिम सिग्नल १९० मिटर (६२५ फिट) उचाइमा प्राप्त भएको थियो। डीजीसीएको जानकारी अनुसार विमानले दिउँसो १:३९ बजे रनवे २३ बाट उडान भरेको थियो। टेकअफपछि पाइलटले ‘मेडे’ सन्देश पठाए पनि त्यसपछि कुनै प्रतिक्रिया प्राप्त भएन।

विमानमा दुई पाइलट र १० केबिन क्रूसहित कुल २४२ जना सवार थिए। पाइलटसँग ८,२०० घण्टा र सह-पाइलटसँग १,१०० घण्टाको उडान अनुभव थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.