मोहन्यालको जंगलमा अज्ञात युवतीको जलेको अवस्थामा शव फेला
धनगढी । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ स्थित तल्लोपानी क्षेत्रमा रहेको नवप्रगतिशील सामुदायिक जंगल भित्र एक अन्दाजी २७ वर्षीया युवतीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार शनिबार दिउँसो जंगलभित्र युवतीको शव भेटिएको हो। हालसम्म शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार युवतीको मुख जलेको अवस्थामा शव फेला परेकाले पहिचान गर्न कठिनाइ भइरहेको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीको नेतृत्वमा टोली खटिएको छ। उक्त टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा परिचालन गरिएको बताइएको छ।
यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट समेत विशेष अनुसन्धान टोली परिचालन गरिएको एसपी चन्दले जानकारी दिएका छन्। प्रहरीले घटनाको प्रकृति र कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment