रौतहट । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो ।

सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनियर यादवलाई फोन गरेर डेरा बाहिर बोलाइएको र लगत्तै गोली प्रहार गरिएको देखिएको छ । गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको कारण अझै खुल्न सकेको छैन । प्रहरीले शंकास्पद क्षेत्रमा ’सिल’ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । मृतकको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी अपराधीको खोजी तीव्र बनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको र आवागमनमा अत्यन्त कडाइ गरिएको उनले जानकारी दिए । सदरमुकामको आवासीय क्षेत्रमै सरकारी कर्मचारीको हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।