सम्झना लामिछाने : आफ्नै गीतले सरप्राइज बनाएको त्यो क्षण

डिसी नेपाल
२ असोज २०७६ १३:१३
12
Shares

काठमाडौं। गायिका सम्झना लामिछाने मगरले केही गीत बजारमा ल्याएकी थिइन्। ‘घरमा पराल बारीमा बन्सो’ लाई स्रोता/दर्शकले रुचाएका थिए। त्यसयता देश–विदेशका सांगीतिक कार्यक्रमबाट डिमाण्डसमेत राम्रो आउन थालिसकेको थियो। संख्यात्मक हिसावले भने उनका गीत प्रयाप्त थिएनन्।

सम्झनाले यूकेको लागि एप्लाई गरेकी थिइन्। स्टेजमा गाउन आफ्ना गीत कम भएको हुनाले गायक रामजी खाँणलाई भनिन् –‘दाई मेरा गीत कम छन्। यूकेको भिषा लाग्यो भने हजुरले एउटा गीत बनाइ दिनुपर्छ है!

भिषा लाग्यो। गीत पनि तयार भयो, – फूल फुलेर पहेँलै भयो…।  शुरुमा अडियो मात्र गर्ने कुरा थियो तर एरेञ्ज सुनेपछि सबैले गीत रुचाए।
रामजी र सम्झनाले गीत गाए। अनि भिडियो पनि बनाउने सल्लाह भयो।  सम्झना बिरामी थिइन्। नृत्यमा रहर थियो, तर स्वास्थ्यका कारण आफूले अभिनय नगर्ने मनस्थिति थियो।

तर, उनी नाच्नुपर्ने भयो। अनामनगरको एक रेष्टुरामा डिसी नेपालसँग गफिएकी सम्झना सम्झिन्छिन्, ‘निर्देशक प्रकाश (भट्ट) दाईले पनि तिमी राम्रो नाच्छौ, यसमा आफैं नाच्नुपर्छ भनेर आग्रह गर्नुभयो। अनि म पेनकिलर खाएर भएपनि नृत्य गरेँ।’ गीतमा रामजीसँग छमछम नाचिन सम्झना। यो आजभन्दा ६ वर्ष अगाडिको कुरा थियो।

२ सय ५० बढी गीतमा उनले स्वर दिइसकेकी छन्। २४/२५ देशमा सांगीतिक प्रस्तुतीका लागि पुगिसकेकी छिन्। नेपालका ६० जिल्लामा पुगेर स्टेज तताएकी छन्।

गीत सार्वजनिक भयो। रेडियो–टेलिभिजनमा घन्किन थाल्यो। छाटो समयमै सर्वत्र रुचाइयो। तर, गायिका स्वयंमले त्यसको भेउ २ महिनापछि मात्र पाइन्। भिडियोको छायांकन सकेर यूके लागेकी थिइन् उनी। त्यहाँबाट मकाउ अनि हङकङ।

दुई महिनापछि नेपाल फर्किएर सांगीतिक कार्यक्रममा हिँडिन्।  उनी सरप्राइज! अधिकांश स्टेज कार्यक्रममा त्यही गीतकै बढी डिमाण्ड आउँथ्यो। एकपटक होइन् दोहोर्याइ/तेहर्याइ गीत गाउँनुपथ्र्यो। ‘हाइ स्केल भएर मलाइ त्यो गीत गाउन गाह्रो लाग्ने तर स्टेज कार्यक्रममा दर्शकको डिमाण्डले त्यही गीत बढी गाउनुपर्यो’–उनी गीतको लोकप्रियता सुनाउँछिन्।

गीतको लोकप्रियताकै कारण अहिलेसम्म पनि कतिपय दर्शक/स्रोता सम्झनालाई ‘फुल फुलेर पहेँलै भयो’की गायिका भनेर चिन्छन्।
अर्घाखाँचीको जुकेनामा जन्मिएकी सम्झना सानोमा नृत्यमा अगाडि सर्थिन्। स्कुलका नृत्य प्रतियोगीतामा भाग लिन्थिन्। पुरस्कार जित्थिन्। कताकता ठूली भएर डान्सर बन्छु भन्ने कल्पना गर्थिन्। बाल्यकालको सपना त हो, कहिले व्यूटिसियन त कहिले नर्स बन्ने सपना पनि पालेकी थिइन्।

२०६१ सालमा उच्चशिक्षाका लागि काठमाडौं छिरिन सम्झना। म्यूजिक विषय लिएन् पढन थालिन्। तर, काठमाडौंमा टिक्न सहज थिएन। गायिका नै बन्छु भनेर होइन्, आर्थिक खर्च जुटाउन दोहोरी साँझमा काम गरिन्। तर, त्यहाँबाट उनमा कताकता गायनको लत बस्न थाल्यो।

भन्छिन्, –‘दोहोरी साँझबाट दोहोरीको सवालजवाफ गर्न सिकेँ। वास्तवमा दोहोरी साँझ मेरो पाठशालाजस्तो भयो।’ केही वर्ष काम गरिन्। काठमाडौंको अभाव, दुःख, कष्टलाई नजिकबाट नियालिन्। २०६८ सालमा आफ्नै लगानीमा पहिलोपटक लोकदोहोरी गीत ‘गण्डकीको तिर’ बजारमा ल्याइन्।

गीतले राम्रै चर्चा नपाएपनि उनलाई आत्मसन्तुष्टि दिलायो। औपचारिक रुपमा लोकदोहोरी गायिकाको परिचय दियो। त्यसयता सम्झनाले गायिका बनेर नाम कमाउने सपना साँच्न थालिन्।

भन्छिन्– ‘त्यो गीतमा मेरो स्वर म आफैलाई पनि मनपर्यो। त्यसपछि गायिका बन्नुपर्छ भन्ने सोँच्न थालेँ।’ दोस्रो गीत ‘घरमा पराल बारीमा बन्सो’ ल्याइन्। यसले उनको सांगीतिक करिअरलाई माथि चढायो। उनको लोकप्रियता बढ्यो। त्यसपछिको ‘फूल फुलेर पहेँलै भयो’ लाई त स्रोता/दर्शकले अत्याधिक रुचाए।

त्यसपछिका ‘डल्ली डल्ली’, ‘सितारा वितारा’, ‘चरर बरर’, हुँदै ‘बैना रुमाल’ सम्म आइपुग्दा सम्झनाले नेपाली लोकदोहोरीमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन्।

२ सय ५० बढी गीतमा उनले स्वर दिइसकेकी छन्। २४/२५ देशमा सांगीतिक प्रस्तुतीका लागि पुगिसकेकी छिन्। नेपालका ६० जिल्लामा पुगेर स्टेज तताएकी छन्। सम्झना नृत्यमा उत्तिकै पोख्त छिन्। त्यसैले आफ्नो धेरै गीतमा नृत्य गरेकी छन्।

अब सम्झनालाई आफ्नो पुरानो ट्याग मेटाउन पाए हुन्थ्यो भन्ने लागेको छ। त्यो के भने ‘फूल फुलेर पहेँलै भयो..’की गायिकाभन्दा अब नयाँ गीतकी गायिका भनेर दर्शकले चिनुन्।

‘यसवर्ष केही गीतको तयारीमा छु। विश्वास छ ती गीतले मेरो त्यो ट्यागलाई तोडनेछ’–उनी आश्वाशित सुनिन्छिन्। सम्झनाका श्रीमान विदेशमा छन्। उनी सम्झनालाई सधै सपोर्ट गर्छन्। नेपालमा सम्झना गीत ल्याउँछिन् त्यसको पहिलो स्रोता/दर्शक विदेशमा रहेका श्रीमान हुन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *