एमालेको जित सुनिश्चित छ, मतदाताले एमाले नै रोज्छन् : गैरे

डिसी नेपाल
१० फागुन २०८२ १०:५३
64
Shares

पाल्पा। नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले आसन्न निर्वाचनमा आफ्नो पार्टीले ३० हजारभन्दा बढी मत प्राप्त गरेर विजयी हुने दाबी गरेका छन्। चुनावी अभियानलाई तीव्र पार्दै मतदाताको घरदैलोमा पुगेका गैरेले नेकपा एमालेको राष्ट्रियता र विकासको एजेन्डाका अगाडि अन्य शक्ति कमजोर रहेको बताए।

चुनावी अभियानअन्तर्गत रिब्दीकोट गाउँपालिकाका ठिमुरे, बल्घा, ढुस्टुङ, र लघुवालगायतका क्षेत्रमा पुगेर मतदातासँगको भेटघाटका क्रममा उनले यस्तो धारणा राखेका हुन्। मतदातासँग आफ्ना आगामी योजनाहरू सुनाउँदै नेता गैरेले विगतको कार्यकालमा सोचेजस्तो काम गर्न नपाएको अनुभव व्यक्त गरे।

उनले भने, “अघिल्लो पटक निर्वाचित भएपछि जनताको सेवा गर्ने दृढ इच्छाशक्ति हुँदाहुँदै पनि राजनीतिक अस्थिरताका कारण पूरा समय काम गर्न पाइएन। यसपटक ती अधुरा कामहरू पूरा गर्ने र पाल्पाको मुहार फेर्ने संकल्पसहित म तपाईंहरूको आँगनमा आएको छु।”

विशेषगरी रिब्दीकोटको लघुवा क्षेत्रमा कृषि क्षेत्र आधुनिकरीकरणतर्फ उन्मुख भइरहेकोमा खुशी व्यक्त गर्दै उम्मेदवार गैरेले कृषिमा आधारित स्वरोजगारलाई मुख्य प्राथमिकता दिने बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा व्यापक नीतिगत सुधारको आवश्यकता रहेको र त्यो केवल नेकपा एमालेबाट मात्र सम्भव रहेको बताए।

रिब्दीकोटका नागरिकहरूले सधैं नेकपा एमालेको सिद्धान्तलाई शिरोपर गर्दै आएको र विकासका लागि एमालेले सधैं सहकार्य गरेको उनले बताए। कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत परिवर्तन गरी गाउँमै रोजगारी सिर्जना गर्ने योजना रहेको निर्वतमान सांसदसमेत रहेका गैरेले बताए। उनले सचेत जनताले राष्ट्रवादी पार्टी छान्न कुनै कञ्जुस्याइँ नगर्ने बताए।

“जनताले विकास र राष्ट्रियताको पक्षमा मतदान गर्नेछन्,” उनले थपे, “नेकपा एमाले नै यो देशको विकास र समृद्धिको एक मात्र भरपर्दो शक्ति हो भन्ने कुरा मतदाताले बुझिसकेका छन्।”

चुनावी अभियानमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। मतदाताहरूले पनि स्थानीय स्तरमा सडक, खानेपानी र कृषिको बजारीकरणमा ध्यान दिन उम्मेदवार गैरेलाई सुझाव दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.