इन्द्र कुमार भुसालद्वारा काठमाडौं–४ का लागि १५ बुँदे विकास एजेन्डा सार्वजनिक

डिसी नेपाल
१० फागुन २०८२ १७:५२
20
Shares

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार इन्द्र कुमार भुसालले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवारी दिएका भुसालले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सुशासन, व्यवस्थित शहरी विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १५ बुँदे विकास योजना प्रस्तुत गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै भुसालले काठमाडौं क्षेत्र नं. ४ तीव्र शहरीकरण, बढ्दो जनघनत्व, अव्यवस्थित ट्राफिक, खानेपानी अभाव, प्रदूषण र बेरोजगारीजस्ता समस्याले ग्रस्त रहेको उल्लेख गरे।

उनले नाराभन्दा परिणाममुखी काम आवश्यक रहेको बताउँदै आफू ‘पदका लागि होइन, परिणामका लागि’ चुनावी मैदानमा उत्रिएको दाबी गरे।
उनले सुशासनमार्फत प्रत्येक नागरिकलाई सेवाको अनुभूति गराउने, सडक तथा ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्ने, प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउने तथा कृषिको आधुनिकीकरण गर्ने प्रतिबद्धता जनाए।

शिक्षा क्षेत्रअन्तर्गत निःशुल्क शिक्षालाई कानुनी सुनिश्चितता दिने र स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने योजना पनि उनले अघि सारेका छन्।

यस्तै, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यकहरूको सशक्तीकरणका लागि विशेष कार्यक्रम ल्याइने उनले बताए। युवाका लागि रोजगारी सिर्जना, खेलकुद पूर्वाधार निर्माण तथा विस्तार, कला–साहित्य–संस्कृति र पर्यटनको संरक्षण तथा प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको छ।

भूसम्बन्धी समस्या, सुकुम्बासी तथा गुठी व्यवस्थापनका विषयमा दीर्घकालीन समाधान खोजिने, स्थानीय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिने र ज्येष्ठ नागरिकको सम्मान तथा सहकार्यमा विशेष ध्यान दिइने उनले उल्लेख गरे। वन तथा वातावरण संरक्षणलाई पनि आफ्नो एजेन्डाको महत्वपूर्ण अङ्ग बनाइएको उनले बताए।

सञ्चारकर्मीलाई निष्पक्ष मूल्यांकन र सकारात्मक आलोचनाका लागि आग्रह गर्दै भुसालले विकास सामूहिक प्रयासबाट सम्भव हुने धारणा व्यक्त गरेका छन्। उनले सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गर्दै क्षेत्र नं. ४ लाई नमुना क्षेत्र बनाउने लक्ष्य लिएको बताए।

उनले मतदातालाई पारदर्शी नेतृत्व, स्पष्ट योजना र परिणाममुखी कार्यशैलीलाई साथ दिन आह्वान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.