रामेछापमा निर्वाचनको तयारी तीव्र

डिसी नेपाल
१० फागुन २०८२ १९:३०
20
Shares

रामेछाप। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रामेछापमा तयारी तीव्र पारिएको छ।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद लामिछानेका अनुसार निर्वाचन आयोगबाट मतपत्र बाहेकका सबै निर्वाचन सामाग्री जिल्ला आइसकेका छन् भने जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नुपर्ने सामाग्रीको खरिद पनि सम्पन्न भएको छ। मतपत्र भने भोलिसम्म आइपुग्ने निर्वाचन आयोगबाट जानकारी आएको उनले बताए।
निर्वाचनमा खटिन मतदान र सहायक मतदान अधिकृतको लागि फागुन १२ गतेदेखि १४ गतेसम्म प्रशिक्षण सञ्चालन गरिने भएको छ।

निर्वाचनमा २ सय ३० जना मतदान अधिकृत, सहायक मतदान अधिकृत २ सय ३० र ६ सय ८४ सहायक कर्मचारी तथा सहयोगी कर्मचारी १ सय ३० खटिने उनले जानकारी दिए। निर्वाचनमा कुल १३ सय ७४ कर्मचारी खटिने छन्।

मत बदर नहोस् भनेर जिल्लाका ६४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। त्यसको लागि स्वयंसेविका तथा इसिडीका सहयोग कार्यकर्ताहरु परिचालन गरिएको उनले जानकारी दिए।

निर्वाचनको लागि आवश्यक समन्वय र सहकार्यका कामहरू भइरहेका उनले बताए। एक निर्वाचन क्षेत्र रहेको रामेछापमा निर्वाचनमा भाग लिने १७ उम्मेदवार मध्ये हालसम्म ११ जनाले बैङ्क खाता खोलेका उनले जानकारी दिए। आइतबार कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी लामिछानेले सो जानकारी दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.