कवि लामिछानेको कवितामाथि परिचर्चा

डिसी नेपाल
१२ फागुन २०८२ ७:२५
24
Shares

काठमाडौं । कवि-कथाकार सपना लामिछाने (देउजा)को कविताकृति ‘जिन्दगी एक यात्रा’माथि परिचर्चा सम्पन्न भएको छ।

शनिबार काठमाडौंमा सूचक प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले कृतिमाथि चर्चा गर्दै कवि लामिछानेका कविताहरूमा मानिसको जीवनका भोगाइ र अनेक आयाम प्रस्तुत गरिएको बताए।

डा. सुवेदीले भने, “कवि लामिछानेका कवितामा सामाजिक विषयवस्तुकासाथै मातृत्व प्रेम, देशप्रेम पनि सशक्त रूपमा आएको छ। उहाँका कवितामा हामीले भोगिरहेका सन्दर्भ अभिव्यक्त भएको छ।”

डा. सुवेदीले कविता पाठकले महसुस गर्नुपर्ने विषय भएको बताए। कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सूचक प्रकाशनले बर्सेनी प्रदान गर्दै आएको ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार २०८२’ गायक कलाकार आनन्द कार्कीलाई प्रदान गरे।

उक्तअवसरमा कुलपति राईले गायक कार्कीलाई बधाई दिँदै सूचक प्रकाशनले साहित्य र कलाका क्षेत्रमा गर्दै आएको कामहरुको विषयमा बोले। कार्यक्रममा पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले साहित्यले समाजलाई अगाडि बढाउने बताउँदै सिर्जना गर्ने हरेक व्यक्तिले समाजलाई डोर्‍याउने उल्लेख गरे।

कार्यक्रममा गीतकार चुडामणि देवकोटा, कवि सपना लामिछाने, आनन्द कार्की, रचयिता लामिछाने, रीति लामिछानेलगायतले दिवंगत क्याप्टेन रतनबहादुर लामिछानेको सम्झना गर्दै आफ्ना धारणा राखे। समारोहमा विभिन्न कविले कृतिभित्रबाट कविता वाचन गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.